Kathmandu Press

यस्ताे छ मुकेश अम्बानीकाे नयाँ व्यापार रणनीति

काठमाडाैं, चैत २६ : भारतको दूरसञ्चार व्यवसायमा आधिपत्य जमाएपछि एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीले अर्को लक्ष्य साँधेका छन् – इकमर्स।भारतको इकम....

यस्ताे छ मुकेश अम्बानीकाे नयाँ व्यापार रणनीति

काठमाडाैं, चैत २६ : भारतको दूरसञ्चार व्यवसायमा आधिपत्य जमाएपछि एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीले अर्को लक्ष्य साँधेका छन् – इकमर्स।भारतको इकमर्स क्षेत्रमा अमेजनकाे बोलवाला छ। अम्बानी अहिले अमेजनलाई पछार्ने रणनीति बुन्दैछन्। यसका लागि उनले हालै दुई दर्जनभन्दा धेरै सम्झौता र साढे दुई अर्ब अमेरिकी डलर लगानी गरेका छन्। 

अम्बानीले सस्तो डाटा र निःशुल्क कल योजना ल्याएर भारतको दूरसञ्चार उद्योगमा हलचल मच्चाए। हाल उनी ‘इ–कमर्स’मा केन्द्रित छन्। विश्वकै ठूलो अनलाइन खुद्रा व्यापारीसँग प्रतिस्पर्धा गर्न उनले थुप्रै सानातिना व्यवसाय ‘एक्विजिसन’ र शेयर खरिद गरिरहेका छन्।

यी एक्विजिसनले अम्बानीको रिलायन्स ग्रुपको नयाँ रणनीति प्रस्तुत गरेको छ। उनका बुवा धिरूभाइ अम्बानीले शून्यबाट ‘पेट्रोकेमिकल’ व्यवसाय खडा गरे। विश्वकै ठूलो तेल प्रशोधन केन्द्र पनि बनाए। एमेजन डट कम र वाल्मार्टको फ्लिपकार्ट अनलाइन सर्भिसेसजस्ता विश्वका ठूला ई–कमर्स व्यवसायको व्यापारिक रणभूमि बनिरहेको भारतमा कम्पनीले लाभदायक बन्ने प्रष्ट आधार बनाएको छ।

Hardik ivf

‘सम्झौता साना होलान्, तर एक्विजिसन मार्फत उनीहरूले प्रतिभाशाली व्यक्तिहरूको समूह बनाइरहेका हुनसक्छन्। त्यसपछि उनीहरूलाई उत्पादनका ठूला मञ्च बनाउन लगानी गरिनेछ,’ ब्लुमबर्ग इन्टेलिजेन्सका विश्लेषक कुनाल अग्रवालले बताए।

सन् २०२८ सम्म अनलाइन शपिङ बजारको मूल्य दुई खर्ब अमेरिकी डलर पुग्ने मोर्गन स्ट्यान्लीको अनुमान छ। अघिल्लो वर्ष बजारको मूल्य ३० अर्ब अमेरिकी डलर रहेको अनुमान थियो। अम्बानी यही बजारमा आफ्नो भाग खोजिरहेका छन्। सिस्को सिस्टम्स इन्कले सन् २०२२ सम्म भारतमा झण्डै ८३ करोड स्मार्टफोन प्रयोगकर्ता हुने अनुमान गरेको छ। यो वर्षसम्म ५० करोड प्रयोगकर्ता रहेको अनुमान छ। यसले संगीतदेखि खाना, विद्युतीय उपकरण र लुगाफाटासम्म अनलाइन सेवा र उत्पादनको माग वृद्धि हुने ठूलो सम्भावना रहेको देखाउँछ।

गत जुलाईमा शेयर सदस्यहरूलाई अम्बानीले योजनाको खाँका सुनाएका थिए। समूहले रिलायन्स रिटेल र रिलायन्स जियो इन्फोकमजस्ता सूचिकृत नगरिएका व्यवसायलाई अघि बढाउने बताएको थियो। अम्बानीले जियोमा ३६ अर्ब अमेरिकी डलर लगानी गरिसकेका छन्। जियोले देशव्यापी फोरजी नेटवर्क र फाइबर ब्रोडब्यान्ड पूर्वाधार तयार गरिसकेको छ। यसले स्थापित प्रतिस्पर्धी पछि हट्न बाध्य भएका छन्।

यो ‘प्लेटफर्म’ले ‘अग्मेन्टेड रियालिटी’, ‘होलोग्राफ’  र ‘भर्चुअल रियालिटी’ प्रयोग गरेर शपिङको ‘इमरसिभ’ अनुभव सिर्जना गर्ने ६१ वर्षिय अम्बानीले बताएका छन्। रिलायन्सको उपभोक्ता व्यवसायले सन् २०२८ को अन्त्यसम्म ‘कंग्लोमरेट’को समग्र आयमा समूहको उर्जा व्यवसाय जत्तिकै योगदान पुर्‍याउने उनको दाबी छ।

रिलायन्सको ‘इ–कमर्स प्लेटफर्म’ ले साना व्यापारीलाई ‘ठूला उद्योग र इ–कमर्सका ठूला खेलाडीले गर्ने सबै काम गर्न’ सक्षम बनाउने अम्बानीले बताएका थिए। 

एक्विजिसनले साझेदारको सञ्जाल बलियो बनाउन सहयोग गर्नेछ। गत साता मात्रै, ह्याप्टिक इन्फोटेक किन्न र त्यसलाई विस्तार गर्न १० करोड १० लाख अमेरिकी डलर लगानी गर्ने रिलायन्सले बताएको थियो। ह्याप्टिक इन्फोटेकले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रयोग गरेर ग्राहक सेवाका लागि ‘च्याट’ सेवा उपलब्ध गराउँदछ।

र्‍याडिसनले कथित ‘इन्टरनेट अफ थिङ्स’ र ‘फाइभ–जी’ मा रिलयान्सको उपस्थिति अभिवृद्धि गर्न सघाउनेछ। भिएकेटि होल्डिङ्सले ‘ब्लकचेन’ प्रविधिको लाभ उठाउँदै एउटा डिजिटल ‘इकोसिस्टम’ तयार गर्नेछ। ‘ग्रयाब अ ग्रब’ले रिलायन्सलाई खाना, घरायसी तथा अन्य सामग्री घर–घरमा पुर्‍याउन सहयोग गर्नेछ। इन्फिबिम एभेन्युजले ‘इ–कमर्स’ बजार सिर्जना गर्नेछ।

‘एक्विजिसनले रिलायन्सका लागि एउटा विशिष्ट र अत्यन्तै शक्तिशाली डिजिटल अर्थतन्त्रको इकोसिस्टम सिर्जना गर्न सहयोग पुग्नेछ। यो सामान्य मर्चन्डाइज इ–कर्मसभन्दा निकै परको कुरा हो,’ टेक्नोपार्क एडभाइजर्स नामक व्यवस्थापन परामर्श कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरविन्द के. सिंहलले भने। 

सन् २०१७ मा जियोले अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन्सबाट दुई अर्ब ५० करोड अमेरिकी डलरमा ‘एयरवेभ’, टावर र फाइबर सम्पत्ति खरिद गर्ने सम्झौता खारेज गरेको थियो। एक्विजिसनको संयुक्त मुल्यमा यो समावेश गरिएको छैन । अनिल अम्बानी मुकेश अम्बानीका भाइ हुन्।

मुकेश अम्बानीको इ–कमर्स योजनाले लगानीकर्ताको मन जितिसकेको छ। रिलायन्स इन्डस्ट्रिजको शेयर १२ महिनायता ४८ प्रतिशत बढेको छ। अप्रिल १ मा हालसम्मकै उच्च मुल्य पनि पुग्यो। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार यो वर्ष अम्बानीको सम्पत्ति नौ अर्ब ७० करोड अमेरिकी डलरले बढेको छ। मुकेश अम्बानीको सम्पत्ति अब ५४ अर्ब अमेरिकी डलर पुगेको छ।

एमजन र वाल्मार्टसँग प्रतिस्पर्धा गर्न अम्बानीले बिस्तारै पाइला चालिरहेकै बेला वृहत्तर युद्धले भारतमा आकार लिइरहेको छ। घरेलु व्यवसायलाई सहयोग गर्ने सहयोगी हात बताउँदै सरकारले पोहोर ठूला बहुराष्ट्रिय कम्पनीमा केही नियन्त्रण लागु गर्‍यो। अबदेखि उनीहरूले ‘क्यासब्याक पेमेन्ट’ र छुट दिन पाउने छैनन्। यिनै विधिको प्रयोग गरेर ठूला कम्पनीले ‘प्रिडेटर प्राइसिङ’ गरेको साना व्यवसायले आरोप पनि लगाएका थिए। 

रिलायन्सको महत्वाकांक्षा र टेलिकमको सफलताले पनि मुल्य चुकाउनु परेको थियो। सन् २०१० मा टेलिकम क्षेत्रमा फेरि प्रवेश गर्ने योजना घोषणा गरेदेखि यस्को कर्जा बढ्दै गएको छ।

यो पृष्ठभुमिमा अम्बानीको स–साना सम्झौता अर्थपूर्ण लाग्छन्। यस्ता एक्विजिसनले एकातिर रिलायन्समा ‘ब्रान्ड’, प्रविधि वा विशेषज्ञता थप्दै गएको छ भने अर्काेतिर थप ऋण बढाएको पनि छैन।

अबको बाटो रिलायन्सले कसरी तय गर्नेछ भन्ने प्रश्नको उत्तर जियोको प्रगतिबाट देख्न सकिन्छ। दुई वर्षको अवधिमा उनले भारतको दूरसञ्चार क्षेत्रकै कायापलट गरे। यसले भाइ अनिल अम्बानीको रिलायन्स टेलिकम्युनिकेसन्स लगायत थुप्रै प्रतिस्पर्धीलाई पछि हट्न बाध्य बनायो।

‘आफ्नै टेलिकम नेटवर्कबाट, रिलायन्स भारतमा एमजन र फ्लिपकार्टभन्दा धेरै अगाडि बढ्न सक्छ,’ टेक्नोपार्कका सिंहलले भने । ‘डिजिटल अर्थतन्त्रका लागि अझै प्रगति गरिरहेको रिलायन्सको इकोसिस्टमसँग खुद्रा व्यवसाय, मनोरञ्जन, शिक्षा र वित्तिय सेवा लगायत बहुमुखी, एकदमै शक्तिशाली तत्व छन्।’

प्रकाशित मिति: ०७:२२ बजे, बुधबार, चैत २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्