Kathmandu Press

नागरिकताबारे सर्वोच्चको फैसलाप्रति राजपा असन्तुष्ट

काठमाडौं, चैत २६ :  जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने काम रोक्न सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पा....

नागरिकताबारे सर्वोच्चको फैसलाप्रति राजपा असन्तुष्ट

काठमाडौं, चैत २६ :  जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने काम रोक्न सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असन्तुष्टि जनाएको छ।

राजपाका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गरी नागरिकताका विषयमा सर्वोच्च अदालतले गरेको आदेशप्रति असन्तुष्टि जनाएका हुन्। उनले सर्वोच्चको आदेशप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन्। ‘लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराएर राज्यविहीन अवस्थामा पुर्‍याउने सर्वोच्चको आदेशले हामीलाई अत्यन्तै दुःखी र चिन्तित तुल्याएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

यसअघि सोमबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

गृहमन्त्रालयले गत चैत १९ गते ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर जन्मसिद्ध नागरिकता प्राप्त गर्नेका  सन्तानलाई कानून बमोजिम वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो। 
 

प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, चैत २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्