स्वास्थ्य बिमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री
काठमाडौं, चैत २६ : अर्थमन्त्री डा.युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बिमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बता....

काठमाडौं, चैत २६ : अर्थमन्त्री डा.युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बिमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताएका छन्।
मंगलबार नेपाल आँखा अस्पतालको ४५औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री डा.खतिवडाले सबै नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गरिने बताए । ‘गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क आउन लागेको छ, त्यसपछि उनीहरूको स्वास्थ्य बिमावापतको प्रिमियम रकम सरकारले व्यहोर्छ,’ डा.खतिवडाले भने।
हाल ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको एक लाखवापतको प्रिमियम रकम सरकारले स्वास्थ्य बिमा बोर्डमार्फत व्यहोर्ने गरेको छ । ०७२ चैत २५ गतेदेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ४२ जिल्लामा कार्यान्वयनमा आएको छ । यसबाट १५ लाख ७१ हजार चार सय ८८ नागरिक बिमामा आवद्ध छन्।
उनले आँखा अस्पतालले पु¥याउँदै आएको योगदानको प्रशंसा गरे । अस्पतालका स्वास्थ्य निर्देशक डा.कलमबहादुर खड्काले अस्पतालले आफ्नो सेवाको दायरालाई फराकिलो बनाउँदै आँखा स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादनमा ध्यान दिई पठनपाठनमा पनि महत्व दिएको बताए।
अस्पताल सञ्चालक समितिका अध्यक्ष विश्वकान्त मैनालीले आँखा उपचार सेवा, जनशक्ति उत्पादनका क्षेत्रमा अस्पताललाई नमूना अस्पताल बनाउने लक्ष्य रहेको जानकारी दिए।
०३० चैत २६ गते सो अस्पताल स्थापना भएको हो । अस्पतालले पछिल्लो समय आँखा उपचारमा एमडी तहको जनशक्ति उत्पादन गरिरहेको छ।











