Kathmandu Press

प्रगति निराशाजनक, अधिकांश आयोजनाको बजेट फ्रिज हुने

काठमाडौं, चैत २६ : राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनासम्म आयोजनहरूले लक्ष्यको ३४ प्रतिशत मात्रै खर्च गर....

प्रगति निराशाजनक, अधिकांश आयोजनाको बजेट फ्रिज हुने

काठमाडौं, चैत २६ : राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनासम्म आयोजनहरूले लक्ष्यको ३४ प्रतिशत मात्रै खर्च गर्न सकेका छन्।

दुई तिहाइको बलियो सरकार बनेसँगै गौरवका आयोजनाले द्रुतगति लिने आशा गरिएको थियो। तर, आर्थिक वर्ष ०७५-७६ को आठ महिना बित्न लाग्दा पनि प्रगति उत्साहजनक देखिएको छैन। अधिकांश आयोजनामा विनियोजित रकम फ्रिज हुने अवस्थामा रहेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार विनियोजित ८७ अर्ब ४९ करोड रुपैयाँमध्ये ३० अर्ब २० करोड रुपैयाँ बराबरमात्रै खर्च भएर भूक्तानी गरिएको छ। जुन लक्ष्यको ३४ प्रतिशत मात्रै हो। सरकारले छुट्याएका गौरवका १९ आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मध्यपहाडी लोकमार्गको मात्रै प्रगति र भुक्तानी लक्ष्यनजिक रहेको छ। मध्यपहाडीमा भने लक्ष्यको ८५ प्रतिशत खर्च भएको छ।

त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लक्ष्यभन्दा बढी खर्च गरेको छ। अन्य १७ आयोजनाको सन्तोषजनक प्रगति छैन।  अर्थमन्त्री डा.युवराज खतिवडाले पूँजीगत खर्च हुन नसक्नु सबै पक्षको कमजोरी भएको र अब खर्च गर्न सबै पक्षले जोड दिनुपर्ने बताउँदै आएका छन्। यो अर्थमन्त्रालयको हात नभएकाले सम्बन्धित मन्त्रालय तथा विभागसँग पटक–पटक छलफल भइरहेको उनको भनाइ छ।

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरणका लागि छुट्याइएको १७ अर्ब ९९ करोड रकममध्ये ६ अर्ब मात्रै खर्च भएको छ। जुन लक्ष्यको ३४.३ प्रतिशत मात्रै हो। बबई सिंचाइ आयोजनाका लागि एक अर्ब २४ करोड रुपैयाँ छुट्याइएकोमा आठ महिनामा २६ करोड मात्रै खर्च भएको छ। जुन लक्ष्यको २१.५ प्रतिशत मात्रै हो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि एक अर्ब ४३ करोड रुपैयाँ छुट्याएकोमा ३० करोड रुपैयाँ मात्रै खर्च भएको छ। जुन लक्ष्यको २१ प्रतिशत मात्रै हो।

यस्तै, काठमाडौ–तराई द्रुतमार्गको लागि १५ अर्ब ३९ करोड रुपैयाँ छुट्याइएको थियो। जसमा दुई अर्ब १५ करोड रुपैयाँ अर्थात लक्ष्यको १४ प्रतिशत मात्रै खर्च भएको छ।भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लागि विनियोजन गरिएको ६ अर्ब ९ करोड रुपैयाँमा एक अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ। जुन लक्ष्यको ३०.२ प्रतिशत हो।

त्यस्तैगरी रेल, मेट्रोरेल तथा मोनोरेल विकास अयोजनाका लागि विनियोजन गरिएको रकम मध्ये ६ करोड रुपैयाँ मात्रै खर्च भएको छ। जसका लागि चार अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। खर्च भएको रकम लक्ष्यको १३.८ प्रतिशत मात्रै हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि विनियोजन गरिएको ६ अर्ब ८० करोड रुपैयाँमध्ये आठ महिनामा १० करोड रुपैयाँ मात्रै खर्च भएको छ। जुल लक्ष्यको १.५ प्रतिशत मात्रै हो।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति

प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, चैत २६, २०७५