सरकारलाई गोदानको चेतावनी–अब आन्दोलन छोडेर सामूहिक राजीनामा दिन्छौं
काठमाडौ, चैत २५ : सरकारी चिकित्सक संघ (गोदान) ले सरकारले आफ्ना माग पूरा गर्न चासो नदिए आन्दोलन छोडेर सामूहिक राजीनामा दिने चेतावनी दिएक....

काठमाडौ, चैत २५ : सरकारी चिकित्सक संघ (गोदान) ले सरकारले आफ्ना माग पूरा गर्न चासो नदिए आन्दोलन छोडेर सामूहिक राजीनामा दिने चेतावनी दिएको छ।
गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले सरकारले अहिलेसम्म छलफलाका लागि कुनै चासो नदिएकाले अब आन्दोलन छोडेर सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन्। ‘लामो समयसम्म आन्दोलन गर्ने कुनै रहर छैन। हाम्रा मागबारे कुनै सुनुवाई नभए सामूहिक राजीनामा दिन्छौं,’उनले भने,‘देशभरका सरकारी चिकित्सकको हस्ताक्षर संकलन गरिसकेका छौँ।’
चार दिनदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले माग सम्बोधन गर्नेबारे चासो दिएको छैन, अब कति दिन आन्दोलन गर्नुहुन्छ? भन्ने प्रश्नको जवाफ दिँदै पाण्डेले भने,‘ अब हामीले आन्दोलन लम्ब्याउँदैनौं। हाम्रा माग सही हुन् कि होइनन् भन्ने जवाफ छिट्टै सरकारलाई दिन्छौं।’
अहिलेसम्म स्वास्थ्य मन्त्रालय र अन्य निकायले छलफलका लागि कुनै चासो नदिएको गोदानले जनाएको छ। सरकारले गरेको समायोजनको सूची अनुसार ८ आँै तहका मेडिकल अधिकृतको संख्या सबैभन्दा कम सुदूरपश्चिम र कर्णाली प्रदेशमा छ भने सबैभन्दा बढी प्रदेश नम्बर ३ मा छ। दुर्गमममा भन्दा सुगममा चिकित्सकको संख्या धेरै हुने भएकाले स्वास्थ्य क्षेत्रमा थप खतरा हुने पाण्डेको भनाइ छ। पण्डेले आफूहरु छललफलमा बस्न तयार रहेपनि सरकारले कुनै चासो नदिएको बताए।
तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ऐन संशोधनबाहेक समायोजनका अन्य कुरामा छलफल गर्न मन्त्रालय तयार रहेको बताए। श्रेष्ठले भने,‘नेपालको संविधान अनुसार नै कर्मचारी समायोजन गरिएको हो। अब यसकोे समाधानको पाटो भनेको ऐन संशोधन नै हो। यसका लागि स्वास्थ्य मन्त्रालयमात्रै नभएर सरकार र सदन तयार हुनुपर्छ।’











