Kathmandu Press

यो साताका विश्वघटना– संसारको सबैभन्दा ठूलोदेखि सानो चुनावसम्म

काठमाडौं, चैत २५ : यो साता विश्वमा हुने चार महत्वपूर्ण घटनाहरुमा भारतको लोकसभा चुनाव र इजरायलको चुनावदेखि बेलायतको ब्रेक्जिटको मिति सार्ने नि नसार्ने ....

यो साताका विश्वघटना– संसारको सबैभन्दा ठूलोदेखि सानो चुनावसम्म

काठमाडौं, चैत २५ : यो साता विश्वमा हुने चार महत्वपूर्ण घटनाहरुमा भारतको लोकसभा चुनाव र इजरायलको चुनावदेखि बेलायतको ब्रेक्जिटको मिति सार्ने नि नसार्ने निर्णयसम्म छन् । 

१. संयुक्त अधिराज्यको ब्रेक्जिट मिति

संयुक्त अधिराज्यको ब्रक्जिट मिति पछि सार्ने वा नसार्ने निर्णय गर्न युरोेपेली संघका नेताहरू बुधबार बैठक बस्दै छन् ।

सिद्धान्ततः संयुक्त अधिराज्य शुक्रबारदेखि युरोपेली संघबाट बाहिरिदैंछ । तर युरोपेली संघले प्रधानमन्त्री थेरिसा मेको प्रस्ताव अनुमोदन गर्नुपर्छ । उनले ब्रेक्जिट मिति पछि सार्न अनुरोध गरेकी छिन् ।

ब्रसेल्समा बस्ने आकस्मिक सम्मलेनमा जुन ३० सम्मलाई ब्रेक्जिट मिति पछि सार्नेबारे छलफल हुनेछ । बिना कुनै सम्झौता युरोपेली संघबाट बाहिरिने भए ब्रेक्जिट मितिलाई अझ पर सार्नुपर्ने मेको विश्वास छ । नभए यसले व्यापार व्यवसायमा समस्या सिर्जना गर्ने र बन्दरगाहमा कठिनाइ हुने युरोपेली संघका धेरै नेता र बेलायती सांसदको बुझाइ छ ।

शुक्रबारसम्म बिना कुनै सम्झौता बे्रक्जिट हुने सम्भावना देखिदैंन । तर यस्तै हुन्छ भनेर ठोकुवा पनि गर्न सकिदैंन ।

२.    भारतको लोकसभा निर्वाचन

भारतमा लोकसभा निर्वाचनका लागि बिहीबारदेखि मतदान सुरू हुँदैछ । यो विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास हो । यसमा ९० करोड भारतीय जनताले मतदान गर्नेछन् । यसको भौतिक पूर्वाधारको व्यवस्थापन पनि उत्तिकै चुनौतिपूर्ण छ । विभिन्न चरणमा हुने यो निर्वाचन मे १९ सम्म हुनेछ ।

अहिले चीन सबैभन्दा धेरै जनसंख्या भएको देश हो । तर चाँडै नै भारतले उछिन्ने सम्भावना प्रबल छ । तथ्याङ्क अनुसार चीनको जनसंख्या एक अर्ब ३९ करोड र भारतको एक अर्ब ३४ करोड छ । जसले उछिन्छ विश्वको सबैभन्दा ठूलो जनसंख्या उसैले नेतृत्व गर्नेछ ।

भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि कुर्सीमा बस्न चाहन्छन् । तर यसपटक पनि उनले बहुमत ल्याउनेमा विश्लेषकहरूको मत विभाजित छ । विपक्षी नेता राहुल गान्धीबाट पनि उनलाई ठूलो चुनौति छ ।

३.  इजरायलमा पनि मतदान

मंगलबार इजरायलमा पनि निर्वाचन हुँदैछ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं कार्यकालका लागि भिड्दैछन् ।

निर्वाचनमा इजरायली सेनाका पूर्व प्रधान सेनापति बेन्नी गाँजलाई नेतान्याहुले हराए उनी सबैभन्दा लामो कार्यकाल सम्हालेका इजरायली प्रधानमन्त्री हुनेछन् ।
सर्वेक्षणमा यस्को सम्भावना पनि प्रबल देखिएको छ । नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले जित्न पनि सक्छ ।

एउटा अति–राष्ट्रवादी पार्टीले कस्तो काम गर्ला भनेर हेर्ने अवसर पनि हुनेछ । जेहट पार्टीले सरकार बनाउनसक्छ । प्यालेस्टाइन विरूद्ध उनीहरू निकै कठोर छन् । गाँन्जलाई वैधानिकता दिने आवाज पनि उठिरहेको छ ।

४.  इजरायली अन्तरिक्षयान चन्द्रमा पुग्ने
आउने बिहीबार इजरायलले चन्द्रमामा अन्तरिक्षयान पठाउने प्रयास गर्नेछ । यो अन्तरिक्ष अभियानले नयाँ युगको प्रारम्भ हुनेछ । इजरायली रोबोट बेरेसिट चन्द्रमामा अवतरण भएमा, निजी लगानीको पहिलो अभियान सफल हुनेछ । हालसम्म अमेरिका, रूस र चीनका सरकारी निकायले मात्रै चन्द्रमामा अभियान पठाएका छन् ।
बेरेसिटले गत साता नै ठूलो फड्को मारेको छ । चन्द्रमाको कक्ष घुम्ने इजरायल सातौं राष्ट्र बनेको छ ।

यदि सफलतापूर्वक चन्द्रमामा अवतरण भए, यसले पृथ्वीमा तस्बिर पठाउनेछ । केही चुम्बकीय अनुसन्धानमा पनि संलग्न हुनेछ ।

बीबीसी र अन्य एजेन्सीहरुको सहयोगमा


 

प्रकाशित मिति: १८:५४ बजे, सोमबार, चैत २५, २०७५