के अब बजारले १२०० परिसूचकको मनोवैज्ञानिक अवरोध तोड्ला?
काठमाडौं, चैत २५ : कारोबारको अन्तिम घण्टामा बिक्रीकर्ता हाबी हुँदा बजार उच्च विन्दूमा बन्द हुन सकेन। बजारले आजको उच्च विन्दूमा बन्द नभएपनि ....
काठमाडौं, चैत २५ : कारोबारको अन्तिम घण्टामा बिक्रीकर्ता हाबी हुँदा बजार उच्च विन्दूमा बन्द हुन सकेन। बजारले आजको उच्च विन्दूमा बन्द नभएपनि बजार सकारात्मक प्रवृत्तिमा सीमित रहेको छ। अब बजारको प्रमुख लक्ष्य भनेको १२०० परिसूचकको मनोवैज्ञानिक अवरोध तोड्नु हो।
आज साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९ दशमलव ३२ अंकले वृद्धि हुँदै ११९१ दशमलव ६८ को विन्दूमा पुगेको छ। आज दोस्रो बजार परिसूचक ० दशमलव ७९ प्रतिशतले बढेकोे छ। आज दोस्रो बजार ११८२ दशमलव ३६ को विन्दूमा खुलेको थियो भने ११९७ दशमलव ८० को उच्च विन्दूसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दू ११७९ दशमलव ४३ थियो। आज दिनभरमा ९० करोड ६९ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ।
आजको बजारको अवस्था :
आज सर्वाधिक कारोबार हुने :
आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनआइसी एसिया बैंकको ७ करोड ६३ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने :
आज समिट माइक्रोफाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले कमाए भने राधी विद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव ५७ प्रतिशतले गुमाए।
आजका प्रमुख गतिविधि
- एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चैत २५ गतेदेखि बैशाख २९ गतेसम्म ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। ६० प्रतिशत हकप्रद प्रयोजनका लागि फागुन २२ गते बुक क्लोज मिति तोकिएको थियो। फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन्।
भोलिका प्रमुख गतिविधि
-हाथवे फाइनान्सले चैत २६ गते आफ्नो वार्षिक साधारण सभा गर्दैछ। ग्लोबल आइएमई बैंकसँग विलय हुन लागेको अवस्थामा कम्पनीले चुक्ता पूँजीको १८० प्रतिशत हकप्रद रद्द गर्ने भएको छ।
प्राथमिक बजार गतिविधि
- माग अनुसार आवेदन नपरेपछि सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ। अब भने बैशाख १९ गतेसम्म आवेदन दिन मिल्नेछ। बीचमै माग अनुसारको आवेदन परेमा कुनै पनि बेला निष्काशन बन्द हुनेछ।
प्राविधिक विश्लेषण :
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम २५ चैत, २०७५ मा बजार ११९१ दशमलव ६८ विन्दूमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा ० दशमलव ७९ प्रतिशतले वृद्घि हो। आजको मैनबत्तीले क्रेताको चाप रहेको देखाएपनि कारोबारको पछिल्लो समयमा क्रेताको चाप केही कमजोर हुँदै गएको संकेत गरेको छ। आजको परिमाणले लगानीकर्ताहरुको सहभागिता अत्याधिक रहेको संकेत गरेको छ। मैनबत्तीसँग तुलना गर्दा बिक्रेताको चाप देखिएपनि क्रेताको चाप बढी मात्रामा देखिन्छ।
चित्र नं.२: ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, आज बजारको उतारचडाब हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजोको कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार बढेमा तत्कालिन प्रतिरोध १२०० को मनोवैैज्ञानिक क्षेत्र हुने सम्भावना थियो। आज ११९७ दशमलव ८० सम्म बजारको उच्च विन्दू रह्यो।
माथि उल्लेख गरे अनुसार, बढ्दो प्रवृत्तिमा रहेको बजार कारोबारको अन्तिम समयमा क्रेताको चाप कम भएको संकेत गरेको छ। ६ र २१ समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले पनि बजारको पछिल्लो समयमा क्रेताको चाप कम रहेको संकेत गरेको छ। नेप्सेको प्रवृत्तिसँग रिलेटिभ स्ट्रेन्थ इन्डेक्सलाई तुलना गरेर हेर्दा आरएसआईले नकारात्मक डाइभर्जेन्स बनाएको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा मागभन्दा आपूर्ति बढेको संकेत गरेको छ।
निष्कर्ष : माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने यदि नेप्से १२०० भन्दा माथि स्थिर रहन सकेमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ। ११८५ भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने सम्भावना देखिन्छ र अर्को तत्कालिन टेवा ११७० मा रहेको देखिन्छ।