Kathmandu Press

सरकारप्रति भ्रम छर्नेहरूले हरियो साग धेरै खाए हुन्छ: प्रधानमन्त्री

काठमाडौं, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेलाई हरियो साग खान आग्रह गरेका छन् । सरकारले केही गरेन भनेर आलोचना गर्नेहरूको आँख....

सरकारप्रति भ्रम छर्नेहरूले हरियो साग धेरै खाए हुन्छ: प्रधानमन्त्री

काठमाडौं, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेलाई हरियो साग खान आग्रह गरेका छन् । सरकारले केही गरेन भनेर आलोचना गर्नेहरूको आँखा कमजोर रहेको उनको भनाइ थियो।

नेपाल उद्योग परिसंघको १६औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तीव्रगतिमा काम गरिरहेको बताए । सरकार दोहोरो अंकको आर्थिक बृद्धिदर हासि गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो । ‘दोहोरो अंकको आर्थिक बृद्धि भनेको एक र शून्य मात्र होइन् । नेपालले १० भन्दा बढी अंकको आर्थिक वृद्धि हासिल गर्न सक्छ । १० अंक सरकारको लक्ष्यको सबैभन्दा तल्लो छेउ हो,’ उनले भने।

केही मान्छेले सरकारविरुद्ध भ्रम छरिरहेको उनको आरोप थियो । भ्रम धेरै समय नटिक्ने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारप्रति भ्रम छर्नेहरूले हरियो साग धेरै खाए हुन्छ । किनभने हरियो साग खानाले स्पष्ट देख्न सक्छन् । सरकारले कामै गरेर भन्नेहरू काम देखी पो हाल्छन् कि!’

अब तीब्रगतिमा विकास हुने उनको भनाइ थियो । विगतमा कतिपय देशले धिमा गतिमा विकास गरेको जिकिर गदै उनले अब प्रविधिले तीव्रगतिमा विकास गर्न सकिने बताए।

नेपालको पानीको सदुपयोग नभएको उनको भनाइ थियो । आफूले सानैदेखि पानी बेचे पैसा आउँछ भनेर सुनेको तर बूढो भइसक्दा पनि पानी बेच्न नसकिएको बताए । ‘पानी बेच्न सकिन्छ भनेर सुनियो मात्रै, पानी बगेको बग्यै छ, बेच्न सकिएन, म जस्ताका दारी फुली सके,’ उनले भने।

व्यवसायीलाई सजह वातावरण बनाउन सरकार तत्पर रहेको उनको भनाइ थियो । ‘उत्पादकत्व बढाउन जस्तो नीतिगत परिवर्तन गर्न जरुरी छ, भन्नुस् । कुन दफा, कुन व्यवस्था, कुन धारा परिवर्तन गनुपर्ने हो, तोकेर भन्नुस् । ब्लाक एन्ड ह्वाइटमा, गोलमटोल कुरा नगर्नुस्’ प्रधानमन्त्री ओलीले भने।

 

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, चैत २५, २०७५