कांग्रेस विभाग गठनका लागि देउवा निवासमा छलफल
काठमाडौं, चैत २५ : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन्।
....

काठमाडौं, चैत २५ : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन्।
बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौं महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन्।
गत शनिबारका लागि तय भएको काग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि स्थगन गरिएको थियो । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो।
विधानतहः विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले बताए । विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै उनले केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी दिए।
त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच संख्यामा सहमति भए पनि नामका बारेमा समेत आजको बैठकमा छलफल भएको थियो । कांग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता शर्मा सहभागी थिए।











