Kathmandu Press

असार पहिलो साता उडान संचालन गर्ने तयारी

काठमाडौं, चैत २५ : राष्ट्रिय गौरवका आयोजनामध्ये भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम भइरहेको छ । अब काममा अवरोध नआए आग....

असार पहिलो साता उडान संचालन गर्ने तयारी
काठमाडौं प्रेस

काठमाडौं, चैत २५ : राष्ट्रिय गौरवका आयोजनामध्ये भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम भइरहेको छ । अब काममा अवरोध नआए आगामी असार पहिलो सातादेखि उडान संचालन हुने भएको छ।

राष्ट्रिय गौरवका १९ आयोजनामध्ये यसमा लक्ष्यभन्दा पनि बढी रकम खर्च भएको छ । आर्थिक वर्ष ०७५÷७६ मा अन्य आयोजनाको प्रगति निराशाजनक रहेको अवस्थामा भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलले भने लोभलाग्दो प्रगति हासिल गरेको हो।

विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्ष ०७५/७६ मा ६ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको भएपनि आठ महिनामा सबै रकमसहित थप ५५ करोड रुपैयाँ खर्च गरेको छ । जुन लक्ष्यको १०८.१ प्रतिशत हो । आयोजनाले विमानस्थलमा आठ महिनामा सात अर्ब ३८ करोड रुपैयाँ खर्च गरिसकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार विमानस्थलले आठ महिनामा सात अर्ब ३८ करोड भुक्तानी गरेको छ ।

दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तगत विमानस्थलदेखि गौतबबुद्ध जन्मस्थलसम्म पुग्ने सडकमार्गसमेत विस्तार भइरहेको छ । आयोजना तोकिएको समयमै सम्पन्न गरेर, असार पहिलो साताबाटै आन्तरिक उडान गराउने लक्ष्यसहित काम भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘आयोजना निर्माणको लागि अहिले धावनमार्गको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको र टर्मिनल भवनको पनि फिनिसिङ भइरहेको छ,’ आयोजना प्रमुख अधिकारीले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि अर्थमन्त्रालयले पनि रकमान्तर गरेर थप रकम विनियोजन गरेको छ । मुआव्जा तथा आयोजनाको कामका लागि  अर्थमन्त्रालयले गत फागुनमा चार अर्ब रुपैयाँ रकमान्तर गरेर निकाशा पठाइसकेको छ । केही आयोजनाहरूले लक्ष्यको एक प्रतिशत पनि खर्च गर्न नसकिरहेको बेला भैरहवा विमानस्थलको प्रगति यसवर्ष राम्रो भएको हो।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व.रविन्द्र अधिकारीले विशेष जोड दिएको विमानस्थलमा आगामी असार ५ गते उडान भर्ने लक्ष्य छ । केही दिन अगाडी मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्थलगत निरिक्षण गरेका थिए । अवलोकनको क्रममा प्रधानमन्त्री ओलीले असार ५ गतेदेखि संचालनमा ल्याउने गरी कामलाई तिव्रता दिन आयोजना प्रमुखलगायत कर्मचारीलाई निर्देशन दिएका थिए।

यतिबेला खुद्रे आयोजनाभन्दा पनि ठूला राष्ट्रिय गौरवका आयोजनामा अपुग रकम रकमान्तर गरेर कामलाई प्रभावित हुन नदिइएको अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । ‘सबै राष्ट्रिय गौरवका आयोजनालाई अर्थमन्त्रालयले रकम अभाव हुने दिने छैन,’ खत्रीले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिकल्पको रुपमा हेरिएको भैरहवा विमानस्थलको संचालनको मोडालिटी र व्यवस्थापनको विषय अझै टुंगिएको छैन । सरकारले जिटुजीमार्फत अन्तर्राष्ट्रिय कम्पनीलाई संचालनको जिम्मा दिने तयारी गरेता पनि ठोस प्रगति भने अहिलेसम्म भएको छैन।

एसीयाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो । भूकम्प तथा भारतीय नाकाबन्दीले पछाडि एकवर्ष थकेलिएको थियो।

सन् २०१८ मा संचालनमा ल्याउने लक्ष्यसहित निर्माणको ठेक्का पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन र स्थानीय ठेकेदारसँगको झगडाका कारण सात महिना निर्माण ठप्प भएको थियो।

आयोजना  निर्माणको लागि आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । तर लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ भने यता मुआब्जाको लागि २३ अर्ब रुपैयाँ आयोजनाले माग गर्दै आएको छ । समयमा काम सम्पन्न नहुँदा नेपाल आउने र जाने हवाई यात्रुले सास्ती व्योहोर्दै आएका छन्।

यो विमानस्थलमा एयरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिने छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ।

यस विमानस्थलको धावनमार्ग तीन हजार मिटर लामो र ४५ मिटर चौडा रहेको छ । बाँकी इक्युपमेन्ट रेडार, वत्ती तथा प्राविधी जडानको लागि टेन्डर प्रक्रियाबाट कम्पनी छनोट भइसकेको छ।

 

 

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, चैत २५, २०७५