Kathmandu Press

घाटा देखाएर हायात होटलमा अनियमितता गरिएको उपसमितिको निष्कर्ष

काठमाडौं, चैत २४ : अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले तारागाउँ विकास समितिले हायात होटललाई उपलब्ध गराएको १ सय ५० रोपनी जग्गा सरकारको स....

घाटा देखाएर हायात होटलमा अनियमितता गरिएको उपसमितिको निष्कर्ष

काठमाडौं, चैत २४ : अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले तारागाउँ विकास समितिले हायात होटललाई उपलब्ध गराएको १ सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउनु पर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। 

नेकपाका सांसद अग्नि सापकोटाको संयोजत्कवमा गठित उपमितिले तारागाउँ विकास समितिले मालपोत ऐन २०३४ विपरीत हायात होटललाई जग्गा उपलब्ध गराएको जग्गा सरकारी स्वामित्वमा ल्याउनु पर्ने प्रतिवेदन समितिलाई बुझाएको हो।

समितिले तारागाउँ विकास समितिको १५० रोपनी जग्गा हायात होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको लगायतका विषयमा छानविन गरेर प्रतिवेदन बुझाउन सांसद सापकोटाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। आइतबार उपसमितिले बुझाएको प्रतिवेदनमा कानून विपरित तारागाउँ विकास समितिले हायात होटललाई जग्गा दिएकाले तत्काल सरकारको स्वामित्वमा ल्याउनु पर्ने उल्लेख छ। 

यस्तै, उपसमितिले नेपाल सरकारको शेयर स्वामित्व भएको होटल घाटामा गएको देखाएर होटल र समितिका पदाधिकारीले गैरकानूनी रुपमा  अनुचित लाभ लिएको निष्कर्षमा पनि निकालेको छ।होटलमा लगानी गरेको २२ वर्षसम्म कुनै पनि लाभ लिन नसकेको र खुद सम्पतिमा वृद्वि भएपनि  पनि समितिको शेयर स्वामित्वमा भने वृद्वि हुन नसकेको देखिएको उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ।

उपसमितिले होटल र समितिका पदाधिकारीले अख्तियार दुरुपयोग गरेको देखिएकाले छानविन गर्न सरकार र अख्तियार दुरुपपयोग अनुसन्धान आयोगलाई  निर्देश पनि गरेको छ। 

हेर्नुस् प्रतिवेदन:
 

प्रकाशित मिति: २०:०६ बजे, आइतबार, चैत २४, २०७५