ब्रुनाइका सुल्तान: धन, शक्ति र कट्टर इस्लाम
विवाहेत्तर सम्बन्ध र समलिंगी यौन सम्बन्धविरूद्ध ब्रुनाइले यो साता कठोर कानून लागू गर्यो। अबदेखि यस्तो सम्बन्ध राख्नेलाई ढुंगाले हिर्काएर मारिनेछ। यो निर्णयले अन्तर्राष....
विवाहेत्तर सम्बन्ध र समलिंगी यौन सम्बन्धविरूद्ध ब्रुनाइले यो साता कठोर कानून लागू गर्यो। अबदेखि यस्तो सम्बन्ध राख्नेलाई ढुंगाले हिर्काएर मारिनेछ। यो निर्णयले अन्तर्राष्ट्रिय जगतमा हलचल मच्च्यिो।
ब्रुनाइका ७२ वर्षीय सुल्तान हसनल बोल्कीयाह, उनको अकुत सम्पत्ति र राजपरिवारको विलासी जीवन दशकौंदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा र चासोको विषय बनेको छ। केही दशकयता सुल्तानले कट्टरपन्थी इस्लामको पक्षमा वकालत गर्दै आएका छन्।
सानो दक्षिणपूर्वी एसियाली मुलुक ब्रुनाइमा इस्लाम धर्म लागू गर्ने मुख्य व्यक्तिको यो निर्णय र शाही परिवारको विलासी जीवनमा विरोधाभाष देखिन्छ। उनको शक्ति, पृष्ठभूमि र ब्रुनाइको नयाँ निमयले अन्तर्राष्ट्रिय जगतमा पाएको निन्दाबारे यहाँ चर्चा गरिएको छ।
एकाधिकार
बोर्नियोको टापुमा रहेको यो सानो देश ब्रुनाइमा सुल्तान हसनलले राजाबाहेक धेरै भूमिका निर्वाह गर्छन्। आधिकारिक जीवनी अनुसार उनी प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र विदेशमन्त्री पनि हुन्। उनी सन् १९६१ मा १५ वर्षकै उमेरमा युवराज घोषित भएका थिए। सन् १९६८ मा बुवाले गद्दी त्यागेपछि युवराज हसनल ब्रुनाइका २९ औं सुल्तान बने।
बेलायतको संरक्षित राज्य रहेकै बेला सुल्तान हसनलले गद्दी आरोहण गरे। सुल्तान बन्नुअघि उनले बेलायतको सैनिक एकेडेमीमा अध्ययन गरेका थिए। उनले मलेसियामा पनि अध्ययन गरे। धार्मिक र परम्परागत भएपनि मलेसिया संवैधानिक राजतन्त्र हो। सुल्तान हसनलले गद्दी आरोहण गर्नुअघि नै ब्रुनाइ धनी भइसकेको थियो। तेल ब्रुनाइको मुख्य आयस्रोत हो। सन् १९८४ मा स्वतन्त्र भएपछि, ब्रुनाइको प्रति व्यक्ति आय विश्वकै उच्चमध्ये एक थियो। आजको डलर मुल्य अनुसार त्यतिबेला ब्रुनाइको प्रति व्यक्ति आय करिब ४८ हजार ६ सय ५० डलर थियो।
ब्रुनाइ शेल पेट्रोलियम नामक तेल कम्पनीको आम्दानीबाट ब्रुनाइले धेरै धन कमायो। तर, छिमेकी देशहरूको तुलनामा एकदमै अलग र चुपचाप रह्यो। ‘लामो समयदेखि ब्रुनाइ धार्मिक रूपले रूढीवादी र एकदमै कठोर रहँदै आएको छ,’ कोलम्बिया युनिभर्सिटीको वेदरहेड इस्ट एसियन इन्स्टिच्युटकी अनुसन्धानविद् एमी फ्रिडम्यानले भनिन्।
‘९० को दशकमा मलेसिया र इन्डोनेसिया सामाजिक परम्परालाई लिएर निकै उदार देखिन्थे। ब्रुनाइले भने धार्मिक व्याख्या र अभ्यासको सवालमा एकदमै कडा नियन्त्रण राखेको थियो।’
महल र पोलो
दशकौंसम्म सुल्तान हसनललाई विश्वकै धनी पुरूषमध्ये एक मानिन्थ्यो। उनी खर्च पनि त्यसरी नै गर्थे। सुल्तान हसनलसँग दुर्लभ कारहरूको विश्वकै ठूलो संग्रह छ। सुनको जलप लगाइएको रोल्स–रोयस एउटा उदाहरण हो। उनको निजी पोलो कम्प्लेक्समा करिब सय ओटा घोडा र एउटा घोडा फारम छ। उनको महलको नाम इस्ताना नुरूल इमान हो। त्यहाँ एक हजार सात सय ८८ ओटा कोठा छन्। यो विश्वकै सबैभन्दा ठूलो निजी घर हो। ५० औं जन्मदिन मनाउन उनले माइकल ज्याक्सनलाई प्रस्तुति दिन निम्त्याएका थिए।
सुल्तान हसनलका केही नातेदारको पनि खर्च गर्ने त्यस्तै बानी छ। सुल्तानका १२ सन्तानमध्ये एक राजकुमार अब्दुल मातिन इन्स्टाग्राममा सक्रिय छन्। सुनको जलप भएका हल, पोलो खेलेको र बाघका डमरूसँग फोटो खिचेर उनी नियमित पोस्ट गर्छन्। अर्काे छोरा राजकुमार अजिमले निजी विमानबाट मराह्या क्यारीलाई गहना पुर्याएको खबर छ।
सुल्तानका भाइ राजकुमार जेफ्री बोल्कियाहले एउटा ‘अम्युजमेन्ट पार्क’ बनाए। आगन्तुकका लागि त्यहाँ निःशुल्क प्रवेशको व्यवस्था छ। उनले संसारभरि होटल किनेका छन्। ‘म्यान्सन’ र ‘मिस्ट्रेस’का लागि उनले पश्चिमी ‘ट्याब्लोइड’मा निकै काम कमाएका छन्। ९० को दशकमा उनले यति धेरै खर्च गरे कि सुल्तानले मुद्दा नै हाले। त्यतिबेला एसियामा आर्थिक संकट लागेको थियो। दुई हजार कार, १७ विमान, थुप्रै पानी जहाज र विभिन्न क्षेत्रमा लगानी गरेर राजकुमारले अर्बौं डलर हावामा उडाएको भन्दै सुल्तानले मुद्दा लगाएका थिए।
यो दाजुभाइको झगडाको सुरूवात थियो। सरकारी स्वामित्वको ब्रुनाइ इन्भेस्टमेन्ट एजेन्सीसँग लस एन्जलसस्थित बेभर्ली हिल्स होटेल र होटेल बेल–एयर, लन्डनको डोर्चेस्टर र पेरिसको होटेल प्लाजा अथिनी लगायत विश्वका महँगा ९ होटेलको स्वामित्व छ।
एउटा कानून र त्यसको आलोचना
समलिंगी यौन सम्बन्ध, विवाहेत्तर सम्बन्ध र चोरीविरूद्ध नयाँ नियम घोषणा गर्नु ६ वर्षअघि नै ब्रुनाइमा समलिंगी सम्बन्ध गैरकानूनी थियो। कानूनको उल्लंघन गर्नेलाई अंग विच्छेदन र ढुंगाले हिर्काएर मार्ने सजायको व्यवस्था गरिएको छ। निर्णयविरूद्ध अन्तर्राष्ट्रिय आक्रोश उत्पन्न भएपछि कानून कार्यान्वयन गर्न केही ढिलाइ भएको थियो।
बुधबारदेखि लागू भएको नयाँ नियमको पनि त्यस्तै निन्दा भएको छ। सेलेब्रिटी र लस एन्जलसका अधिकारीले ब्रुनाइको स्वामित्व भएका होटललाई बहिष्कार गर्न आह्वान गरे। किङ्गस कलेज लण्डन र अक्सफोर्डका विद्यार्थीले सुल्तानलाई दिइएको मानार्थ डिग्री खारेज गर्न विश्वविद्यालयसँग माग गरे। अमेरिका, बेलायत र अन्य देशले पनि सजायको निन्दा गरेका छन्।
जनदबाबले सुल्तानको मन नपग्लिने एम्नेस्टी इन्टरनेसलका एसिया–प्रशान्तीय एड्भोकेसी म्यानेजर फ्रान्सिस्को बेन्काज्मीले बताए। ‘अन्तर्राष्ट्रिय हलचल जति हुन्छ, सुल्तान उत्ति नै बढी रूढीवादी इस्लामका प्रतिरक्षकजस्ता देखिन्छन्,’ उनले भने।
यद्यपि, ब्रुनाइसँग सम्बन्धित होटल र व्यवसाय लक्षित गरेर अभियन्ताहरूले सुल्तानमाथि आर्थिक दबाब सिर्जना गर्न सक्ने बेन्काज्मीले बताए। ‘यो नैतिक विषय वा अन्तर्राष्ट्रिय कानूनप्रति प्रतिबद्धता मात्रै होइन,’ उनले भने,‘यसले विशेष गरी ब्रुनाइका मध्यम र उच्च वर्गका धेरै मानिसको व्यवसाय पनि प्रभावित हुनेछ।’