हिमाल आरोहीबाट उठ्यो २५ करोड बढी रोयल्टी
काठमाडौं, चैत २३: यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन्। ४६ आरोही समूहका १९३ आरोहीबाट शनिबारसम....

काठमाडौं, चैत २३: यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन्। ४६ आरोही समूहका १९३ आरोहीबाट शनिबारसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ।
सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ। सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन्। सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ। कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन्।
मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई-दुई समूहले अनुमति पाएका छन्। विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ। सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो। सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३१२ रूपैयाँ रोयल्टी उठेको थियो।
सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए। सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए। सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ। अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका बताइन्छ। रासस











