Kathmandu Press

तनहुँको मार्कीचोक सबस्टेसन संचालन

काठमाडौं, चैत २२ : तनहुँको मार्कीचोकमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसन संचालनमा आएको छ।

नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्मा....

तनहुँको मार्कीचोक सबस्टेसन संचालन

काठमाडौं, चैत २२ : तनहुँको मार्कीचोकमा निर्माण भएको १३२÷३३ केभी सबस्टेसन संचालनमा आएको छ।

नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी बिहीबारबाट संचालन (चार्ज)मा ल्याएको हो । सबस्टेसन संचालनमा आएसँगै मध्यमस्र्याङ्दी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ । मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन यस अघि नै संचालनमा आइसकेको छ।

मार्कीचोक सबस्टेसन संचालनमा आएसँगै गोरखामा रहेको भोल्टेज ड्रप, पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुनेलगायतका समस्यामा कमी आउने  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘दमौली–डुम्रे–आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत् आपूर्ति भइरहेको थियो, लामो दुरीबाट विद्युत आपूर्ति हुँदा धेरै समस्या थियो, अब मार्कीचोक सबस्टेसनबाट आँबूखैरेनी हुँदै गोरखातर्फ विद्युत् जान्छ, जसबाट ३३ केभी लाइनको दूरी कम हुँदा प्रणालीको चुहावट घट्ने, भोल्टेज ड्रप तथा ट्रिपिङमा सुधार आई विद्युत आपूर्ति भरपर्दो हुने छ,’ उनले भने ।

मध्यमस्र्याङ्दी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख शुभारम्व विक्रम शाहका अनुसार, अब मध्यमस्र्याङ्दी र दमौलीबाट आउने १३२ केभी प्रसारण लाइनलाई मार्कीचोक सबस्टेसनमा प्रवेश गराई (लुप इन) १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तल्लो मस्र्याङ्दीतर्फ पनि  निकाल्न (लुप आउट) सकिने छ।

आयोजनाले मार्कीचोकमा सबस्टेसन निर्माण गर्ने, मध्यमस्र्याङ्दी तथा दमौली सबस्टसनमा क्रमशः एक र दुइटा बे र तल्लो मस्र्याङ्दीमा जिआइएस बे विस्तार गर्न चिनियाँ कम्पनी पिङगाओ ग्रुपसँग पाँच वर्ष अघि ठेक्का सम्झौता गरेको थियो । जसअनुसार, नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलियतपूर्ण ६० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको प्रमुख शाहले बताए।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने जनाएको छ।

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, चैत २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्