उपयुक्त स्पोर्ट्स ब्रा कसरी छान्ने ?
स्वीमसुटभन्दा स्तन ठूलो भएपछि १२ वर्षीया होली पावलले पौडी खेल्न छाडिन्। कलेज पुगेपछि ‘जगिङ’ गर्न थालिन्।
‘त्यतिबेला मलाई मिल्ने स्पोर्....
स्वीमसुटभन्दा स्तन ठूलो भएपछि १२ वर्षीया होली पावलले पौडी खेल्न छाडिन्। कलेज पुगेपछि ‘जगिङ’ गर्न थालिन्।
‘त्यतिबेला मलाई मिल्ने स्पोर्टस् ब्रा थिएन,’ ५० वर्ष पुगेकी पावलले बताइन्। उनी अहिले पनि नियमित व्यायाम गर्छिन्। उनी अमेरिकाको ओरिगन बस्छिन्।
उनी ब्रा शपिङ पनि गइन्। तर उनको ‘साइज’ को स्पोर्ट्स ब्रा बजारमा नआउने बिक्रेताहरूले बताए। सन् २०११ मा पावलले शिक्षक र ‘लाइब्रेरियन’ को जागिर छाडिन् र ब्राको पसल थापिन्। उनको पसलको नाम हो ‘द पेन्सिल टेस्ट’। उनको पसलमा २८डीदेखि ४८जी सम्मका एक सय २५ ओटा साइजका ‘स्पोर्ट्स ब्रा’ पाइन्छन्। नियमित ब्रा २५ देखि ३० साइजसम्म पाइन्छ। ‘कसैले नगरे आफैं गर भनेजस्तै भयो,’ पावलले भनिन्।
पावलको पसल ‘युनिक’ छ । तर ‘क्याजुयल’ र नियमित व्यायाम गर्ने दुवै थरीका ग्राहकको समस्या भने ज्युँका त्युँ छ।
नर्थ क्यारोलाइनाकी ५८ वर्षीया रोबिन प्रोक्टर ‘माउन्टेन बाइक राइड’मा जान्छिन् । नमिल्ने कसिला ब्राले शरीरमा घाउ बनाउँथ्यो।
‘गर्मीको दिनमा, एकदमै गलिन्छ । स्तन यताउता उफ्रिरहन्छन्,’ प्रोक्टरले भनिन् । अन्ततः उनले ‘एनेल स्पोर्ट’ नामक ब्रा भेटिन्। यसले स्तनलाई च्याप्प समाउँछ। हल्लिन दिँदैन।
हालै गरिएको एउटा अध्ययनमा अष्ट्रेलियाको युनिभर्सिटी अफ वोलोङगोङस्थित बायोमेकानिक्स रिसर्च ल्याबोरेटरीका अनुसन्धाताले स्तनको आकार र नियमित व्यायामबीच ‘बलियो’ सम्बन्ध रहेको पत्ता लगाएका छन्। ठूलो आकारको स्तन भनी वर्गिकरण गरिएका ८६ जना महिलामध्ये ४६ प्रतिशतले स्तनको आकारले व्यायाम नियमित नभएको बताए। धेरै ठूलो स्तन वर्गिकरण गरिएका ४३ जना महिलामध्ये ५८ प्रतिशतले पनि उस्तै समस्या भएको बताए। अनुसन्धाताले ब्राको आकारभन्दा स्तनको परिमाणको आधारमा आकारको वर्गिकरण गरेका थिए।
राम्रो ब्राले व्यायाम गर्दा बढी सहज अनुभव हुने पुष्टि भएको छ । बेलायतको युनिभर्सिटी अफ पोर्टस्मथले सन् २०१२ मा गरेको एक अध्ययनमा ‘फिट’ ब्राले स्तनको दुखाइ कम गर्ने पत्ता लागेको थियो। युनिभर्सिटी अफ वोलोङगोङका अनुसन्धाताले सही र उपयुक्त ब्रा पहिचान गर्न एउटा ‘एप’ विकास गरेका छन्।
एउटा उत्कृष्ट ब्राले भावनात्मक र शारीरिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर पावल आफैंले अनुभव गरेकी छिन्।
‘धेरै मानिसले नियमित जिम जान थालेको मलाई सुनाएका छन्,’ उनले भनिन्,‘ठ्याक्क मिल्ने ब्राले आत्मसम्मानमा गहिरो प्रभाव पार्दछ।’
आफ्नो आकार पत्ता लगाउनुहोस्
सम्भव भएसम्म, पसल गएको बेला सकेसम्म धेरै ब्रा ‘ट्राइ’ गर्नुहोस्। ‘प्रोफेसनल’को सहयोग पनि लिनुहोस्। नभए ‘सबरेडिट’ मा उपलब्ध ‘अब्राद्याटफिट्स’ ले आकार पत्ता लगाउन सहयोग गर्दछ । यसले विभिन्न कोणबाट ६ ओटा ‘ओभर–बस्ट’ र ‘अन्डर–बस्ट’ नाप उपलब्ध गराउँछ। समूहका सदस्यले फोटो वा विवरणका आधारमा आफूलाई मिल्ने आकार पहिचान गर्न पनि सहयोग गर्ने गर्छन्।
‘ब्राटाबेस’ नामक वेबसाइटका ‘ब्लगर’ले पनि यस्तै सहयोग गर्छन्। विभिन्न ब्रान्ड अनुसार ‘साइज’ पनि भिन्न हुन्छ। धेरै कम्पनीले एउटा ‘साइजिङ चार्ट’ उपलब्ध गराउँछन्। आफ्नो नाप अनुसार यो तालिकाले उपयुक्त आकारको ब्रा पत्ता लगाउन सहयोग गर्दछ।
धेरै जसो स्पोर्ट्स ब्रा ‘स्मल’, ‘मिडियम’, ‘लार्ज’ र ‘एक्स्ट्रा लार्ज’ साइजमा आउँछन् । केहीले भने ‘कप’ (ए, बि, सि, डि, इ, एफ र माथि) र ‘ब्यान्ड’ मापन (३२, ३४, ४०, ४४, र माथि) को आकार प्रणाली प्रयोग गर्दछन्। कप र ब्यान्ड मापन प्रणाली प्रयोग गर्ने ‘स्टाइल’ले अझ मिल्दो र उपयुक्त ब्रा पत्ता लगाउन सहयोग गर्दछ।
नाप अनुसारको ब्रा पसलमा उपलब्ध नहुनसक्छ । पावलको सुझाव अनुसार ‘यु.के. साइज’ का ब्रान्डले कप साइजका अझ धेरै विकल्पहरू उपलब्ध गराउँछन्। ‘हररूम’ र ‘बेयर नेसेसिटिज’ जस्ता खुद्रा बिक्री गर्ने अनलाइनमा यी उत्पादन पाउन सकिन्छ ।
आफ्नो स्टाइल छान्नुहोस्
स्पोर्ट्स ब्रा तीन प्रमुख स्टाइलमा आउँछन् : ‘कम्प्रेसन’, ‘इन्क्याप्सुलेटिङ’ र ‘कम्बिनेसन’। कम्प्रेसन ब्राले स्तनलाई च्यापेर राख्छ।हल्लिन दिँदैन। धेरैजसो ‘एड्जस्टेबल’ हुँदैनन् र थोरै आकारमा उपलब्ध हुन्छन्। यस्ता ब्राको अग्रभागमा फराकिलो र बाकुलो ‘प्यानल’ हुन्छ। यो प्यानले स्तनलाई थिचेर ‘युनिबुब’ अर्थात् एउटा ठूलो स्तनजस्तो देखाउँछ।
इन्क्याप्सुलेसन ब्रा ‘फेसन ब्रा’ जस्ता देखिन्छन्। यसले स्तनलाई दुई भिन्न कपमा छुट्याउँछ। यस्ता ब्राले ‘सिमिङ’, ‘मोल्डिङ’ वा ‘अन्डरवायर’ मार्फत स्तनलाई सहारा दिन्छन्। इन्क्याप्सुलेसन ब्रा कम्प्रेसन ब्राको तुलनामा उपयुक्त ‘फिटिङ’ हुन्छ।
कम्बिनेसन ब्राले दुवै डिजाइनको फाइदा दिन्छ। ‘हाइ–इम्प्याक्ट एक्सरसाइज’ गर्दा स्तन दायाँबायाँ र तलमाथि पनि चल्न सक्छन् । स्तनको चाल नियन्त्रण गर्ने यो नै सबैभन्दा उपयुक्त ब्रा हो।
इन्क्याप्सुलेसन ब्रा ‘म्याडोना’ स्टाइलको देखिनसक्छ। तर सबैभन्दा राम्रो सहारा दिन्छ भने त्यसको आवरणबारे चिन्ता गर्नुनपर्ने लाजिन लसनको सुझाव छ। उनी ‘स्पोर्ट्सवेयर’ ब्रान्ड ‘च्याम्पियन’की वैज्ञानिक तथा परामर्शदाता हुन्।
‘हजुरआमाले लगाउने ब्राजस्तो देखिए पनि नयाँ प्रयोग गर्न हिच्किचाउने छैन भनेर सोंच्नुहोस्,’ उनले भनिन्।
चट्ट मिलाउनुहोस्
ब्रालाई सबैभन्दा खुकुलो स्थानमा ‘हुक’ गर्नुहोस्। तन्किदैं गएपछि ‘ब्यान्ड’ कस्न सक्नुहुनेछ। त्यसपछि, स्तनलाई राख्नुहोस्।
‘काखी मुनिबाट एउटा हात ल्याउनुहोस् र कपभित्र स्तनलाई सोहोरेर राख्नुहोस्,’ आइरिस क्लार्क भन्छिन्। त्यसपछि माथिबाट मिलाए, चट्ट मिल्छ। उनी ब्रुकलिन, न्युयोर्कमा ‘आइरिस लन्जरी’ नामक पसल चलाउँछिन्।
ब्राको अधिकांश सहारा ब्यान्डबाट पाइन्छ । त्यसैले ब्यान्ड चुस्त हुनुपर्छ । ब्यान्डभित्र दुई औंला घुसाउन सके ब्रा फिट छ भन्ने थाहा हुन्छ। दुवै हात टाउकोभन्दा माथि उठाउनुहोस्। ब्यान्ड माथि उठेको वा खुकुलो छ कि जाँच्नुहोस्। ‘स्ट्रयाप’ धेरै कसिलो वा काँधबाट खस्ने गरी खुकुलो हुनु हुँदैन। सोही अनुसार लम्बाइ मिलाउनुहोस् ।
त्यसपछि कपतिर जानुहोस्। कपले स्तन पूर्ण रूपमा छोपेको हुनुपर्छ। सबै नछोपिए, अलि ठूलो साइजको ब्रा लगाउनुपर्छ। ब्राको कपडा कतै थुप्रिए वा खुम्चिए, सानो साइज लिनुहोस्।
इन्क्याप्सुलेसन ब्रा हेरिरहनु भएको भए, ब्राको त्रिकोणात्मक खण्ड स्तनको बीच भागमा परे–नपरेको याद गर्नुहोस्। त्यसलाई ‘गोर’ भनिन्छ। यो सम्म परेको हुनुपर्छ। ब्रामा तार भए, स्तनमुनिबाट ठ्याक्क बसेको हुनुपर्छ। यसले छेउतिर घोच्नु हुँदैन वा स्तनमाथि बसेको हुनुहुँदैन। यस्तो भए ठूलो साइज लगाउनुपर्छ।
‘एड्जस्टेबल’ ब्यान्ड र स्ट्रयाप भएको ब्रा खोज्नुहोस्। आफ्नो आकार अनुसार त्यसलाई मिलाउन सकिन्छ । एउटा सानो र अर्काे ठूलो भए ठूलो स्तनका लागि ब्रा लिदाँ सबै भाग छोपिने र उपयुक्त हुने क्लार्कको सुझाव छ।