तोकेभन्दा दोब्बर शुल्क असुल्ने मेडिकल कलेजमाथि कारबाही गर्न माग
काठमाडौं, चैत २१: चिकित्सा क्षेत्र सुधारको माग गर्दै युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स कलेजका विद्यार्थीहरुले डिन कार्यालयलाई ज्ञापनपत्र बु....

काठमाडौं, चैत २१: चिकित्सा क्षेत्र सुधारको माग गर्दै युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स कलेजका विद्यार्थीहरुले डिन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्।
मेडिकल कलेजले अनावश्यक रुपमा तोकेभन्दा दोब्बर शुल्क असुलिरहेको भन्दै विद्यार्थीहरुले बिहीबार काठमाडौं विश्वविद्यालयका डिन प्राध्यापक डाक्टर राजेन्द्र कोजुलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले मेडिकल कलेजहरूले अनावश्यक लिने शुल्क बन्द गरिनुपर्ने, छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीबाट शुल्क लिन बन्देज गरिनुपर्ने, शुल्कका लागि विद्यार्थीलाई धम्काउने कार्य बन्द गर्नुपर्ने लगायतका माग गरेका छन्।
चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीमाथि हुने ज्यादतीका घटनाले मेडिकल क्षेत्र नै बदनाम हुँदै गएकाले तत्काल अनुगमन नगरे आन्दोलन गर्ने चेतावनी दिएको धुलिखेल अस्पतालमा अध्ययनरत डा. नरेश भट्टले जानकारी दिए। उनले अनावश्यक बढी शुल्क लिने, विद्यार्थीलाई धम्क्याउने कलेज सञ्चालकहरूलाई कारवाही नगरे एक सातापछि काठमाडौं विश्वविद्यालयका डीनको कार्यालयलगायत सम्पूर्ण शाखामा तालाबन्दी गरिने बताए।
यसैबीच, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइसेन्जका विद्यार्थीहरुले विद्यार्थी कल्याण परिषद् पनि गठन गरेका छन्। परिषद्को अध्यक्षमा सुजनप्रसाद कडरिया रहेका छन् भने उपाध्यक्षमा नरेश भट्ट तथा सचिवमा डा सुदीप जयसवाल चयन भएका छन्।
परिषद्ले काठमाडौं युनिभर्सिटी तथा सम्बन्धन प्राप्त गरेका कलेजका चिकित्साशास्त्रका विद्यार्थीहरुको हकहितमा काम गर्नेछ। परिषद् काठमाडौं युनिभर्सिटी ऐन–२०४८ अनुसार गठन गरिएको हो।











