प्रतिरोध क्षेत्रलाई अझै परीक्षण गर्दै सेयर बजार
काठमाडौं, चैत २१: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ० दशमलव ६४ अंकले घट्दै ११६५ दशमलव २० को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परि....
काठमाडौं, चैत २१: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ० दशमलव ६४ अंकले घट्दै ११६५ दशमलव २० को विन्दुमा पुगेको छ। आज दोस्रो बजार परिसूचक ० दशमलव ०५ प्रतिशतले घटेकोे छ।
आज दोस्रो बजार ११६५ दशमलव ८४ को विन्दुमा खुलेको थियो भने ११६९ दशमलव ८७ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु ११५९ दशमलव ९० थियो। आज दिनभरमा ४२ करोड २४ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेकोे छ।
हिजोको विश्लेषणमा ११७२ तत्कालिन प्रतिरोध रहेको थियो र आज यो प्रतिरोधलाई बजारले तोड्न असफल रहेको देखिन्छ। अबको तत्कालिन प्रतिरोध ११७० देखि ११७२ को क्षेत्रमा रहेको देखिन्छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनआइसी एसिया बैंकको ४ करोड ७१ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सिन्धु विकास बैंकका शेयरधनीले सर्वाधिक ५ दशमलव १९ प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव २४ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम २१ चैत, २०७५ मा बजार ११६५.२० अंकमा बन्द भएको छ। यो हिजोको बजार भन्दा ०.०५ प्रतिशतले मात्र कम हो।
आज बजारको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले आज पनि बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। आजको कारोबार परिमाणले पनि बजारमा क्रेता र बिक्रेता दुबैको चाप रहेको संकेत गरेको छ।
चित्र नं.२: ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, आज बजारको उतारचडाब हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आजको प्रवृत्तिलाई हेर्दा नेप्सेले खासै कुनै निश्चित दिशा तय गर्न सकिरहेको छैन। त्यसैले ६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले दिएको संकेत प्रभावकारी देखिदैन। स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयतिर शेयर बढी बिक्री भएको अवस्थाबाट पुनः खरिदकर्ताहरुको चाप भएको प्रारम्भिक संकेत गरेको छ।
निष्कर्ष
माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने बजारले हिजो र आजको कारोबार दिनमा ११७० देखि ११७२ को प्रतिरोध क्षेत्रलाई परीक्षण गरिरहेको देखिन्छ।
११६५ देखि बजार सकारात्मक हुने प्रारम्भिक संकेत गरेपनि यदि नेप्से ११७२ भन्दा माथि स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। अर्को तत्कालिन प्रतिरोध ११८० मा रहेको देखिन्छ। नेप्से हाल छोटो प्रवृत्तिमा प्रवृत्तिहीन रहेको छ र नेप्सेले मुख्य प्रतिरोध क्षेत्रहरुलाई सामना गरिरहेको देखिन्छ, जहाँ बिक्रेताहरुको चाप हुन सक्ने प्रबल सम्भावना हुन्छ। यदि बजार ११५५ भन्दा तल रहेमा अर्को तत्कालिन टेवा ११४० मा रहेको देखिन्छ।