उपेन्द्रको त्यो पहेँलो कार्डले झरेको नेपालीको आँशु . ..
काठमाडौं, माघ ११ : बिहीबार बिहान साढे नौ बजे सानोठिमिस्थित आर्मी व्यारेक नजिककैको मैदानमा केही युवा फुटबल अभ्यास गर्दै थिए। रातभर तुसारो झरेको मैदान ओ....

काठमाडौं, माघ ११ : बिहीबार बिहान साढे नौ बजे सानोठिमिस्थित आर्मी व्यारेक नजिककैको मैदानमा केही युवा फुटबल अभ्यास गर्दै थिए। रातभर तुसारो झरेको मैदान ओभाइ सकेको थिएन । अभ्यासका लागि २५/३० जनाको युवाहरु भेला भएका थिए । खुला निलो आकाश र पारिलो घाममा ती उर्जावान युवाको फुटबल अभ्यास नियालिरहेका थिए, उपेन्द्रमान सिंह।
उनी तीनै गोलकिपर हुन्, जसले १४ वर्ष नेपालको गोलपोस्टको रक्षक भएर बसे। मैदानको टचलाइन बाहिर बसेर अभ्यास हेरिरहँदा सायद १५ वर्ष अघिसम्म आफूले गरेको अभ्यास सम्झदै थिए उनी।
उनको समयमा गोलकिपरको छुट्टै कोच हुदैन थियो। प्रशिक्षकले अन्य खेलाडीलाई टेकनिक सिकाउँथे, तर गोलकिपरलाई आफैं अभ्यास गर्न अह्राउँथे ।
उपेन्द्रको जवानको र अहिले फुटबलमा धेरै परिवर्तन आएको छ। अहिले गोलकिपिङ कोच छुट्टै हुन्छन् र नयाँ–नयाँ टेक्निक पनि सिकाइन्छ । ‘हाम्रो बेलामा कहाँ यस्तो थियो र ! आफैंले मेहनत गर्नुपथ्र्यो । छुट्टै गोलकिपर कोच हुन्थेन, कोचले अरु खेलाडीलाई सिकाउँथे तर, गोलकिपरलाई आफैँ गर भन्ने चलन थियो,’ उपेन्द्रले आफु राष्ट्रिय खेलाडी हुदाको सघर्षको स्मृति पल्टाउदै भने, ‘अहिले धेरै कुरा फेरियो । म आफैँले पनि गोलकिपिङ कोचको प्रशिक्षण लिएँ।’
१९९१ मा श्रीलंकमा भएको पाँचाैँ साग खेलकुदबाट राष्ट्रिय टोलीमा उनको प्रवेश भएको होे । जतिवेला उनी १७ वर्षका लक्का जवान थिए । १४ वर्ष राष्ट्रिय टोलीको गोलपोस्ट र ६ वर्ष राष्ट्रिय टिमको कप्तानी सम्हाल्दाका धेरै तिता मिठा क्षण उनीसँग छन् । आफ्नो खेल जीवन आफैँमा एक इतिहास भइसकेको उनी मान्छन् । ‘त्यो त एउटा इतिहास बनिसक्यो । १४ वर्ष राष्ट्रिय टिममा खेल्नु भनेको एक खेलाडीका लागि लामो समय हो । निरन्तर खेल्नु भनेका त झन गाह्रो कुरा हो,’ उनी आफ्ना अतित सम्झँदै पुलुकित हुन्छन्, ‘ती दिन सम्झँदा रमाइलो लाग्छ । देशलाई दिएको योगदान, अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको जित । गोल्ड मेडल, नराम्रो र आफ्नो खराब प्रर्दशन ।’
उपेन्द्रलाई असिमित खुसी दिलाएको त्यो क्षण...
श्रीलंकामा भएको पाँचौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को २ वर्षपछि बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नै उनको खेल जीवनको सबैभन्दा खुसीको क्षण हो।
छैटौं सागमा नेपाल सबै इभेन्टमा लगभग स्वर्णविहीन भइसकेको थियो । आशा थियो त केवल फुटबलमा मात्र । उपाधि भिडन्तका लागि विपक्षी थियो, भारत । नभन्दै उपेन्द्रको फलामे गोल किपिङले नेपाली फुबटल टोलीले आशालाई निराशामा परिणत हुन दिएन । र, अन्ततः नेपालले एउटा गोल्ड मेडल जितेरै छोड्यो । त्यो जितका नायक थिए, उनै उपेन्द्र । ‘हामीले फाइनल खेल्नुअघिसम्म एउटा पनि गोल्ड मेडल थिएन । सबैको आशाको केन्द्रमा हामी नै थियौं । प्रतिस्पर्धा भारतसँग थियो,’ उनले त्यो क्षण सम्झिदै भने, ‘ट्राइबेकरमा मैले नै सेभ गरेर स्वर्ण जिताएको थिएँ । त्यो क्षण मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो।’
तर, फुटबलले उनलाई जति खुसी दिएको छ, कुनै क्षण त्यो भन्दा तीता पनि छन्– उपेन्द्रसँग । १९९८ मा नेपालमै भएको आठौं सागको फाइनलमा उपेन्द्रले यस्तै तीतो अनुभव व्यहोरे। फाइनल अघि दुई पटक पहेलाे कार्ड पाएकाले बंगलादेशसँगको फाइनल गुमाए। उनी नहुँदा नेपाल १–० ले पराजित भयो। घरेलु मैदानमा मुखमै आइसकेको स्वर्ण खोसियो। त्यतिबेला उपेन्द्रको मात्रै होईन, मन नदुख्ने नेपाली सायदै कोही थिए होलान। उनकाे मात्रै हाेईन सारा नेपालीकाे आखाँमा त्याे क्षण पक्कै आँशुले भरियाे हाेला।
‘दुई पहेँलो कार्डका कारण फाइनल खेल्न पाइनँ । हामी पराजित भयौँ । यो मेरो खेल जीवनको सबैभन्दा पीडादायी क्षण हो,’ उनले पीडाभाव व्यक्त गर्छन।
परिवारले बनाएका फुटबलर
आमाबुबाको इच्छा के हुन्छ? छोरो डक्टर बनोस्, इन्जिनियर बनोस्, विदेश जाओस् र राम्रो पैसा कमाओस्। नेपाली समाज यस्तै छ, जसले खेलेर केही हुन्न भन्ने मान्यता राख्छ । तर, ४६ वर्षीय उपेन्द्रको परिवार भने त्यो चेतभन्दा माथि थियो । परिवारकै कारण उपेन्द्र नेपालको हिरा सावित हुन सके।
सायद परिवारले साथ नदिएको भए उनी व्यापारी पो हुन्थे की ? काठमाडौंको मुुट लगन टोलमा जन्मिएका उपेन्द्रमा सानैदेखि फुटबलको भुत सवार थियो । उनी साथी बटुलेर कतै खाली ठाउँ देख्ने वित्तिकै वल लिएर खेल सुरु गरिहाल्थे। फुटबल खेलेर डिस्टर्ब गरेको भन्दै छिमेकीको नजरमा उनी ‘आवरा’ थिए।
तर, ती छिमेकीलाई के थाहा? तीनै ‘आवरा’ उपेन्द्र पछि हिरा बन्दैछन् । ‘घरअघि सानो स्पेस थियो । हामी त्यहाँ खेल्थ्यौं । टोलका मानिसहरुले आवाराहरु काम छैन, फुटबल खेलेर डिस्टर्ब गर्छन् भनेर हप्काउँथे,’ उनले बाल्यकालको कथा खोतले, ‘बलले लागेर कहिलेकाहीँ झ्यालको सिसा फुट्थ्यो, मानिसले लखेट्थे । टोलवासीले नेगेटिभ हिसाबले हेर्थे । हाम्रो कारणले बुवा आमालाई पनि नराम्रो मान्थे।’
र पनि उपेन्द्रको फुटबल प्रतिको लगाव रोकिएन । टुँडिखेलमा पुगेर पनि उनीहरुले खेले । उनको परिवारले उनलाई कहिलै फुटबल खेल्नबाट रोकेन । उल्टै हौसाइरह्यो । ‘पढेर पनि नाम कमाउने हो । देशका लागि खेल्न सक्यो भने पनि नाम कमाइन्छ । परिवारले मलाई सँधै यसै भनिरह्यो,’ उनी भन्छन्, ‘खेलका कारण मेरो पढाइ कहिलै बिग्रन पाएन । ०४६ सालमा ७३ प्रतिशत ल्याएर एसएलसी पास गरेँ।’
जब उनी कक्षा ५ मा पुगे तब उनको जीवनमा एक ‘टर्निङ प्वाइन्ट’ आयो । उनी प्रहरी स्कुल, साँगामा भर्ना भए । त्याहीँ होस्टलमा बस्न थाले । ‘त्यहाँ फुटबलको राम्रो माहौल थियो । राम्रो मैदान थियो, प्रशिक्षक पनि उस्तै,’ उनले भने।
उनलाई जीवन श्रेष्ठले प्रशिक्षण दिए, जसले एसपी भएर अवकास पाए । कक्षा १० सम्म आइपुग्दा उनको स्कुल ‘बाल दिवस कप’ च्याम्पियन बनिसकेको थियो, देशभरको । हामी च्याम्पियन भएर बंगलादेश पनि खेल्न गयौं । एसलसी दिएर बसेको समयमा उनलाई अन्डर १६ को राष्ट्रिय टोलीमा बोलाइयो । उनी एकपटक सेलेक्सनमा गएर त हेरौं भन्ने मनासायले गए । तर, एकैपटकमा छनौट भइहाले । त्योवेला अन्डर १६ को टिमबाट उनले भारतविरुद्धको खेल खेलेका थिए।
एसएलसी गरेपछि उनले इन्जिनियरङ कलेजमा स्कलरसिप पाएका थिए । सँगै राष्ट्रिय टोलीमा समेत बोलाइयो । उनी द्विविधामा परे । तर, त्यहाँ पनि परिवारले नै उनको दोधार मेटाइदियो । परिवारले खेल्न सुझाएपछि उनी निरन्तर मेहनत गर्न थाले । त्योवेला अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘नेपाल जर्मन कोअपरेसन’ प्रोजेक्ट सञ्चालन गरेको थियो । जर्मन प्रशिक्षक होल्गर ओभरम्यान नेपाल आएका थिए । उनले उपेन्द्रको खेल मनपराए । देशभरबाट एक जना खेलाडी ट्रेनिङका लागि जान पाउँथे । त्यो भाग्यमानी तिनै उपेन्द्र भए । जसले जर्मनीमा गएर ट्रेनिङ लिए । ‘देशभरबाट एउटा खेलाडी प्रशिक्षणका लागि लैजाने भन्ने थियो । म छनौट भएँ, त्यो मेरा लागि ठूलो एक्सपोजर थियो,’ उनी भन्छन् । त्यसपछि त हो उनले सँधै राष्ट्रिय टोलीबाट खेल्न पाएका ।
थाइल्याण्ड देखि भारतसम्मको व्यवसायिक यात्रा
उपेन्द्रले खेल जीवनमा थाइल्याण्डदेखि भारतसम्मका क्लबमा व्यवसायिक फुटबल खेलेका छन् । सन् १९९४ मा थाइ क्लब सिंह तामरोङका म्यानेजर अन्तर्राष्ट्रिय खेल हेर्ने क्रममा नेपाल आएका थिए । उनले उपेन्द्रको खेल मन पराए । उनले मासिक ५०० डलर दिने अफर गरे । त्योवेला नेपालमा व्यवसायिक फुटबल सुरु भएकै थिएन।
‘हामीले मासिक १५ सय देखी २ हजार पाउँथ्यौँ । १९९१–९२ मा त एउटा बुट पायो भने पनि हामी ठूलो मान्थ्यौं,’ उनले भने, ‘विदेशी क्लबमा ५०० डलर तलब पाउनेभएपछि म जान राजी भएँ ।’ त्यसपछि मात्रै नेपालमा मनाङ मस्र्याङदीले व्यवसायिक फुटबल सुरु गरेको थियो । उपेन्द्र तिनै खेलाडी हुन्, जसले त्यो जमानामा मनाङबाट सबैभन्दा धेरै महिनाको ४५ सय रुपैयाँसम्म थापेका थिए । सिंह तामरोङ थाइल्याण्डको बी डिभिजन क्लब थियो । उनले एक सिजन बी डिभिजनमै खेले । त्यही सिजन सिंह तामरोङ थाइ लिगमा बढुवा भयो । तर, आर्थिक अभावका कारण उसले राम्रो स्थानीय खेलाडी किन्न सकेन । ‘हाम्रो क्लबले राम्रो खेलाडी भित्र्याउन सकेन। तीन जना विदेशी खेलाडी थियौं । स्वीट्जरल्याण्ड, नेपाल र श्रीलंकाका थियौं । हामी तीन जनाले टिम धान्नै सकेनौं,’ उनी भन्छन्, ‘सोही कारण अर्को वर्ष फेरि क्लब बी डिभिजनमै झर्यो । त्यसपछि मैले क्लब छोडेँ ।’
१९९६/९७ मा उनी मनाङबाट घरेलु फुटबल खेलिरहेका थिए । रोबर्टस् कप खेल्न मनाङ मुम्बई गएको थियो । साल्गाकोर गोवा क्लबका म्यानेजरले उनलाई आफ्नो टोलीबाट खेल्न अफर गरे । ‘मैले थाइल्याण्डमा ५०० डलरमा खेलेको थिए, त्यहाँ मलाई हजार डलरको अफर आयो । त्यो समयमा हजार डलर भनेको धेरै नै ठूलो हो,’ उनले भने, ‘आई लिग पनि खेलँे । मेरो व्यक्तिगत प्रर्दशन राम्रो भयो, टिमले भने राम्रो गर्न सकेन । अर्को सिजन नेश्नल लिग खेल्यौं । १९९८ मा हामी च्याम्पियन भयौं । त्यसपछि हामी चीनमा क्लब च्याम्पियनसिप खेल्न गएका थियौं । गोवामा मैले तीन वर्ष खेलेँ।’
भारतपछि उनले बंगलादेशमा समेत खेले । उनले रमन्स गन्ज क्लबबाट खेलेका थिए । त्यो बेला उनको क्लब ढाका प्रिमियर लिगको चौथो भएको थियो । उनले सन् २००५ मा सन्यास लिएका थिए । त्यसपछि उनले मेलेसिया गएर गोलकिपिङ कोचको प्रशिक्षण गरेका थिए।
सपना मध्यपुर युथ एसोसियसन
सन्यासपछि उपेन्द्र भक्तपुरको गठ्ठाघरमा बस्न थाले । त्यहाँ उनको परिवारको हार्डवेयर पसल थियो । त्यहाँ उनलाई जति मानिसले भेटे, सबैले भन्न थाले ‘तपाईले केही त गर्नै पर्यो ।’
‘राष्ट्रिय टोलीको चर्चित खेलाडीका रुपमा म परिचित थिएँ । पसलमा हुँदा धेरैले आएर तपाईंजस्तो मान्छे त्यसै बस्नु भएन, केही गर्नु प¥यो भन्थे,’ उनले भने, ‘त्यसपछि मात्र सामाजिक संस्था खोलेर काम गरौं, फुटबलको विकास पनि गरौं । बालबालिकालाई केही सिकाउ भन्ने सोच आयो ।’
साथीहरुसँगको छलफलपछि उनकै नेतृत्वमा जन्मियो, मध्यपुर युथ एसोसियसन । उनीहरुले क्लब स्थापना मात्रै गरेनन्, बलियो प्लान बनाए र कार्यान्वयन समेत गरे । ‘पहिलो वर्ष ट्रेनिङ क्याम्प सञ्चालन गर्ने, अर्को वर्ष एकाडेमी सुरु गर्ने, अर्को वर्ष सी डिभिजन लिग खेल्ने । त्यसपछि बी हुँदै एसम्म पुग्ने भनेर ५/६ वर्षको प्लान बनायौँ,’ उनी भन्छन्, ‘प्लानअनुसार नै काम भयो । आर्थिक अवस्थामा कमजोर फुटबल खेल्ने बच्चाहरुलाई स्थानीय निजी स्कुलको सहकार्यमा निःशुल्क पढाउने व्यवस्था मिलायौं।’
उपेन्द्रको प्लानले काम गर्यो । मध्यपुर युथ एसोशियसनले २०१२–१३ को सिजनमा ए डिभिजन लिग समेत खेल्यो । तर, टिक्न सकेन । ‘आर्थिक अभावका कारण हामीले धान्नै सकेनौं । एउटा सामाजिक क्लबले वार्षिक १ करोड कसरी जुटाउने,’ उनी भन्छन् । अहिले मध्यपुर युथ एसोसियसन बी डिभिजनमा छ । अहिले ए डिभिजन खेल्ने धेरै खेलाडी उनकै क्लबका उत्पादन हुन् । ‘अहिले हामीले उत्पादन गरेका धेरै खेलाडी अहिले ए डिभिजन खेलिरहेका छन्,’ उनले सुनाए, ‘नेपालका क्लबहरुमा हाम्रो जस्तो क्लब अरु छैनन् । ठूला क्लबको पनि डेभलपमेन्ट प्रोगाम नै छैन । बनेका खेलाडीलाई पैसा दिएर ल्याउने र खेलाउने मात्रै भइरहेको छ ।’ तर, उपेन्द्रको सोच अर्कै छ । ‘क्लबको आफ्नै एकाडेमी हुनुपर्छ, अनिमात्र फुटबल विकास हुन्छ’ उनी भन्छन्।
ए डिभिजन खेल्न छैन हतार
बी डिभिजनमा रहेको उपेन्द्रको क्लबलाई तत्कालै ए डिजिभन खेल्ने हतारो छैन । किनकी अझैं पनि उनी आफ्नै योजनामा छन् । क्लबको पूर्वधार बनाउने मिसन उनको छ । ‘अहिले हामी ए डिजिभनमा पुग्ने र खेल्ने आँट गरिरहेका छैनौं,’ उनी भन्छन्, ‘ए डिभिजन लिग खेल्नुभन्दा टिक्न गाह्रो छ । बी डिभिजन लिग खेल्न नै ३० लाख चाहिन्छ । त्यो रकम जुटाउनै धौ–धौ पर्छ।’
अहिले उनी मध्यपुर थिमी नगरपालिका–२ मा रहेको क्लबको मैदान सुधार र एकाडेमी सञ्चालन गर्ने योजनामा छन् । ‘अहिले हाम्रो ध्यान क्लबको आफ्नै पूर्वधार हुनुपर्छ भन्नेमा छ । मैदान, एकेडेमी, पूर्वधार हुनुपर्छ भन्नेमा हामी लागेका छौं । त्यसैमा काम गरिरहेका छौं,’ उनले आफ्नो योजना सुनाए, ‘मध्यपुर थिमी नगरपालिकाले साथ दिइरहेको छ । बी डिभिजनका लागि अहिले हामीलाई १० लाख रुपैयाँ दिएको छ ।’ उनीहरुले भर्खरै नगरपालिकाको सहयोगमा मैदान छेउमै बिल्डिङ बनाएका छन् । जहाँ मिटिङ हल, सुविधायुक्त ट्वाइलेट बनाइएको छ । अब होस्टल र एकाडेमी सुरुवात गर्ने उनको योजना छ । ‘अब एक तला थपेर होस्टल बनाउने योजनामा छौं । एकाडेमी पुनः सुरु गर्ने छौं । अर्को एक तला पनि थपेर तीन तलाको भवन बनाउने योजना छ । नगरपालिकाले ३ करोड दिइसक्यो ।’ यस्तै मैदानलाई वालले घेर्ने, प्याराफिट बनाउने योजना समेत उनको छ । ६ हजार दर्शक क्षमताको प्याराफिट बनाउने र स्कोरबोर्ड समेत राख्ने उनी सुनाउँछन्।
अहिले ए डिजिभन लिग खेल्ने क्लबले करोडौं खर्च गरेको, तर ट्रेनिङका लागि उनीहरुसँग मैदान समेत नभएको उनको कथन छ । ‘वेसिक पूर्वधार नभइ क्लब व्यवसायिक हुँदैनन्’, उनी भन्छन्, ‘अहिले एएफसीले पनि नेपालका क्लबहरु लाइसेनिङमा जानुपर्छ भनेको छ । त्यसमा हामी चुकेका छौं । त्यसको प्रमुख कारण पूर्वाधार नै हो । हामी व्यवसायिक फुटबल खेल्छौं भन्छौं, तर हाम्रा क्लब सबै सामाजिक संस्था छन् । व्यवसायिक फुटबल खेलाउने हो भने समाजिक संस्थाले हुँदैन, प्राइभेट हुनुपर्छ।’
उनी क्लबहरुलाई मैदान र एकाडेमी बनाउन सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । तर, विदेशी खेलाडी खेलाउन हुँदैन भन्ने नेपाली फुटबलको मानसिकताप्रति पनि उपेन्द्र सहमत छैनन् । ‘हाम्रो ध्यान त राम्रा र स्तरीय विदेशी खेलाडी ल्याउनेमा हुनुपर्ने हो नि ! स्तरीय खेलाडीसँग खेल्न पाए पो, हाम्रा खेलाडीको पनि स्तर विकास हुन्छ । कन्फिडेन्स लेभल बढ्छ,’ उनले भने, ‘ढिलो चाँडो नेपालका क्लब लाइसेनिङमा जानुपर्छ, तब मात्रै व्यवसायिक फुटबल सुरु हुन्छ।’