संघ र प्रदेश २ बीच दूरी बढेको छैनः मुख्यमन्त्री राउत
काठमाडौं, चैत २०ः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार र प्रदेश सरकारबीच दूरी नबढेको स्पष्ट पारेका छन्।
उनल....

काठमाडौं, चैत २०ः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार र प्रदेश सरकारबीच दूरी नबढेको स्पष्ट पारेका छन्।
उनले भने,‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोचपनि परिवर्तन गर्नुपर्छ। हिजोको एकात्मक शासनजस्तो व्यवहार देखाउनु हुँदैन।’ रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा मुख्यमन्त्री राउतले बारा र पर्सामा आएको हुरीबतासको घटनाबारे संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रीहरु, मुख्य सचिवलगायतका जिम्मेवार निकायका व्यक्तिहरुले विशेष चासो देखाएको र उद्धार र राहतमा कुनै कमी आउन नदिने गरी काम गरेको बताए।
प्रधानमन्त्री ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले घाइतेहरुको उद्धार र स्वास्थ्योपचारमा कुनै कमी नहोस भनेर आफूलाई फोन गरेको पनि मुख्यमन्त्री राउतले बताए। उनले भने,‘संघीय सरकार हर प्रकारको सहयोग गर्न तयार छ भनेर प्रधानमन्त्रीले भन्नुभयो। घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याउनुपरे जहाज तयारी अवस्थामा छ भन्नुभयो।’
उनले पीडितहरुको लागि राहत कोष स्थापना भइसकेको र कोषमा देश तथा विदेशबाट ठूलो सहयोग आइरहेको पनि बताए। पीडित हुनेमा अधिकांश गरिब, मुस्लिम तथा दलितहरु रहेका पनि उनले बताए। उनले भने,‘आर्थिक रुपमा बढी विपन्न भएकाहरु नै प्रभावित भएका छन्। उनीहरुको लागि सामूहिक घर बनाउने हाम्रो योजना छ। प्रहरी तथा सेनासँग आधिकारिक डाटा लिएर हामी सोहीअनुसार सहयोग गर्छौं।’










