बारमा लोकतान्त्रिक समूहका पोखरेलको अग्रता
काठमाडौं, चैत २० : कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक समूहका अ....

काठमाडौं, चैत २० : कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले अग्रता लिएका छन्।
उपत्यकाबाहिर सबै जिल्लाको मत गनिसक्दा पोखरेलले एक हजार ७८६ मत प्राप्त गर्दै अग्रता कायमै राखेका हुन्। पोखरेललाई प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ५६१ मतले पछ्याइरहेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए।
त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले एक हजार ७८५ मत प्राप्त गरेका छन भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले एक हजार ४७५ मत प्राप्त गरेका छन्। अहिले उपत्यकाको एक हजार २८९ मत गणना हुन थालेको उनले जानकारी दिए।
यस्तै भोलि दुई हजार ५७५ मतगणना हुनेछ। २५औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो। बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक-एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए।











