आजको दिन प्रतिरोधलाई परीक्षण गर्दै बन्द भयो बजार, अब के होला?
काठमाडौं, चैत २०: लगातार दुई कारोबार दिनदेखिको वृद्धिलाई नेप्सेले निरन्तरता दिएको छ। आज साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २ दशमलव ०१ अंकले....
काठमाडौं, चैत २०: लगातार दुई कारोबार दिनदेखिको वृद्धिलाई नेप्सेले निरन्तरता दिएको छ। आज साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २ दशमलव ०१ अंकले वृद्धि हुँदै ११६५ दशमलव ८४ को विन्दुमा पुगेको छ।
आज दोस्रो बजार परिसूचक ० दशमलव १७ प्रतिशतले वृद्धि भएको छ। आज दोस्रो बजार ११६३ दशमलव ४७ को विन्दुमा खुलेको थियो भने ११७२ दशमलव ४० को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु ११५८ दशमलव ७२ थियो। आज दिनभरमा ५४ करोड ५८ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचक वृद्धिसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ।
प्राथमिक बजार गतिविधि
- हिमालय ऊर्जा विकास कम्पनीले चैत २० गतेदेखि आइपीओ खुला गरेको छ। आवेदन दिने अन्तिम दिन चैत २५ गते रहेको र सो समयसम्म पनि पुरै शेयरमा आवेदन नपरेमा वैशाख १९ गतेसम्म समय थपिने छ। हाइड्रो पावरले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतम ६ हजार ५ सय कित्तासम्म आवेदन दिन सकिने छ। इक्रा नेपालले हिमालय ऊर्जा विकास कम्पनीलाई ४ रेटिङ दिएको छ।
- सनराइज बैंकले चैत २० गतेदेखि कुल १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको छ। प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य रहेको ऋण पत्रमा ४० करोड बराबरको ऋण पत्र सर्वसाधारणलाई र बाँकी ६० करोड बराबरको ऋण पत्र व्यक्तिगत तबरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने छ। ‘१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ नाम रहेको यस ऋण पत्रले वार्षिक १० प्रतिशतका दरले ब्याज दिने छ। ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुनेछ। लगानीकर्ताले छिटोमा चैत २५ गतेभित्र आवेदन दिन पाउनेछन्। तर, सो अवधिमा पुरै निष्काशन गरिएको ऋण पत्र बिक्री नभएमा ढिलोमा वैशाख १९ गतेसम्म आवेदन दिन पाउनेछन्। आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिने छ। ऋण पत्रको अवधि ५ वर्ष रहेको छ।
आजको बजारको अवस्था:
आज सर्वाधिक कारोबार हुने:
आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनआइसी एसिया बैंकको ४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने:
आज नेपाल इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ६४ प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले गुमाए।
आज नेप्सेमा आएका घोषणाहरुः
- सेन्चुरी कमर्सियल बैंकले वैशाख १२ गते आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकले साधारण सभामा २ प्रतिशत बोनस सेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ। कम्पनीको साधारण सभा प्रयोजनका लागि चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज हुनेछ। चैत २८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र प्रास्तावित लाभांश प्राप्त गर्ने छन्।
- भर्खरै मात्र प्रिमियममा आइपीओ निष्काशन गरेको शिवम् सिमेन्टले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले वैशाख ९ गते वार्षिक साधारण सभा गर्दैछ। साधारण सभामा कम्पनीले १५ दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लग्नेछ। साधारण सभा प्रयोजनाका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने भएको हो। चैत २५ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने छन्।
प्राविधिक विश्लेषण:
चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम २० चैत, २०७५ मा बजार ११६५.८४ अंकमा बन्द भएको छ। हिजोको बुलिस मारुबोजु मैनबत्तीले आज बजार बढ्न सक्ने संकेत गरे वापत आज बजार ११७२.४० को प्रतिरोध क्षेत्रसम्म पुग्न सफल भएपनि कारोबारको पछिल्लो समय पुनः बजार केही सच्चिएको छ। आजको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले बजारको हालको बढ्दो प्रवृत्तिमा पुनः परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि विश्लेषण गर्नु आवश्यक हुन्छ।
आजको कारोबार रकम पनि बढेको छ। यसले बजारमा लगानीकर्ताहरुको सहभागिता राम्रो भएको संकेत गरेपनि बिक्रेता र क्रेता दुबैको चाप अत्याधिक मात्रामा भएको संकेत गर्दछ।
चित्र नं.२ : १५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, बजारमा केही दिनदेखि के भइरहेको छ भनि हेर्नलाई हिजोको विश्लेषणमा १५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको थियो र निश्कर्षमा उल्लेख गरे बमोजिम ११६५ को प्रतिरोधलाई निश्चित रुपमा तोडेमा बजार ११७० को प्रतिरोध क्षेत्रलाई परीक्षण गर्न सक्ने सम्भावनालाई पुनः पुष्टि गरेको छ। हाल बजार बढ्दो च्यानलमा पुनः सीमित रहेको र बजार टेवा क्षेत्रमा रहेको देखिन्छ।
६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरु एकआपसमा नजिक हुँदै गएकाले बजारमा क्रेताको चाप केही कम हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५४.४१ अंकमा रहेको छ। यसको प्रवृत्तिले पनि बजारमा क्रेताको चाप केही कम भएको संकेत गरेपनि आरएसआई सकारात्मक क्षेत्रमा नै रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा मागभन्दा आपूर्तिको चाप रहेको संकेत गरेको छ।
निष्कर्ष : माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने बजार केही समयदेखि बढ्दो प्रवृत्तिमा रहेको र हाल च्यानलको तल्लो प्रवृत्ति रेखाको टेवा क्षेत्रमा रहेको देखिन्छ।
यदि नेप्सेले ११७२ भन्दा माथि स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध ११८० मा रहेको देखिन्छ। नेप्से हाल छोटो प्रवृत्तिको बढ्दो बजारमा सीमित रहेको छ। अब नेप्सेले मुख्य प्रतिरोध क्षेत्रहरुलाई सामना गर्नु पर्ने देखिन्छ, जहाँ बिक्रेताहरुको चाप हुन सक्ने प्रबल सम्भावना हुन्छ। त्यसैले लगानीकर्ता र कारोबारीहरु सजग रहनु पर्ने देखिन्छ। यस्तै, अबको तत्कालिन सामान्य टेवा ११६० मा रहेको देखिन्छ।