Kathmandu Press

राष्ट्रपति भण्डारीले भनिन्-राज्यका प्रमुख अङ्गलाई विवादमा ल्याउने काम भयो

काठमाडौं, चैत २०ः राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका प्रमुख अङ्गहरूलाई विवादमा ल्याएर राजनीतिक प्रणालीलाई विवादित बनाउने प्रयास भइरहेको बताएकी छि....

राष्ट्रपति भण्डारीले भनिन्-राज्यका प्रमुख अङ्गलाई विवादमा ल्याउने काम भयो
फाइल फोटो

काठमाडौं, चैत २०ः राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका प्रमुख अङ्गहरूलाई विवादमा ल्याएर राजनीतिक प्रणालीलाई विवादित बनाउने प्रयास भइरहेको बताएकी छिन्। न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उनले त्यसप्रति सर्वजनिक रूपमै असन्तुष्टि जनाइन्।

‘केही समययता राज्यका सबै निकायलाई विवादित बनाउने र अनास्था फैलाउने काम भइरहेको छ’, उनले भनिन्, ‘आधारहीन कुरा उठाएर जनतालाई दीग्भ्रमित पार्ने कार्यहरु हुँदै आएका छन्। यसबाट न्यायपालिका पनि अछुतो छैन।’  राष्ट्रपति भण्डारीले कोही व्यक्तिको आचरण र व्यवहारसँग जोडेर समग्र संस्थाको विश्वसनीयता र मानमर्यादामै ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान चिन्न र त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताइन्।

न्यायपरिषद्ले सर्वोच्च अदालतका पाँच र उच्च अदातलका १८ जना न्यायाशीश सिफारिस गरेको भोलिपल्ट न्यायाधीश सम्मेलन सुरु भएको छ।  न्यायाधीश सिफारिशबारे वरिष्ठ अधिवक्ताहरूबाट समेत विरोध भइरहेको छ। न्यायाधीश सिफारिशप्रति सांकेतिक विरोध जनाउँदै दुई जना वरिष्ठ अधिवक्ताहरू बारका पूर्व अध्यक्षद्वय हरिहर दाहाल र शम्भु थापा सम्मेलन स्थल गएनन्।

न्यायाधीश सम्मेलनमा जिल्ला अदालतका २ सय ३५ र उच्च अदालतका १ सय ४४ सहित देशभरका करिब ५ सय न्यायाधीशहरु काठमाडौँमा भेला भएका छन् । सम्मेलनमा न्यायपालिकासम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ। 

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, चैत २०, २०७५