Kathmandu Press

देउवाको गुनासो–म ओलीको खिलापमा हुन्छु, हाम्रै साथीहरु मेराविरुद्ध लाग्छन्

घोराही, चैत २०ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले आफ्नै पार्टीका नेताहरुको साथ नपाएको गुनासो गरेका छन्। 

....
देउवाको गुनासो–म ओलीको खिलापमा हुन्छु, हाम्रै साथीहरु मेराविरुद्ध लाग्छन्

घोराही, चैत २०ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले आफ्नै पार्टीका नेताहरुको साथ नपाएको गुनासो गरेका छन्। 

नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा देउवाले आफू केपी शर्मा ओली नेतृत्वको सरकारको खिलापमा लागिरहेका बेला पार्टीभित्रैबाट असहयोग भएको बताएका हुन्। ‘म ओली सरकारको खिलापमा हुन्छ। तर, हाम्रा साथीहरु मेरो खिलापमा लाग्छन्,’ देउवाले भने।

देउवाले वर्तमान सरकारले अप्रजातान्त्रिक ढंगबाट अगाडि बढ्न खोजिरहेको बताए। उनले भने,‘लुट कान्छा लुट गीतमाथि प्रतिबन्ध लगाउने,मिडियामाथि पनि नियन्त्रण गर्न सरकारले खोजिरहेको छ। सरकार अब मिडियासँग पनि डराउन थालेको छ।’

देउवाले संसदमा कांग्रेस कमजोर रुपमा प्रस्तुत नभएको बताए। उनले भने,‘हामील रेलिङ भाँच्दैनौं। तोडफोड र आगो लगाउने काम पनि गर्दैनौं। अरु काम गरिरहेका छौं।’ देउवाले सरकारले गरेको लगानी सम्मेलन असफल भएको टिप्पणी गरे। उनले भने,‘लगानी गर्न आएकाहरु त भागिरहेका छन्। सरकारले लगानीको वातावरण बनाउन सकेको छैन। लगानी गर्नलाई फाइदा हुन्छ कि हुन्न भन्ने कुरा लगानीकर्ताले हेर्छन्। यो सरकारले त्यो वातावरण बनाइसकेको छैन।’

उनले दाङमा आवश्यक भौतिक पूर्वाधार नभएकाले तत्कालीन समयमा प्रदेश पाँचको अस्थायी राजधानी बुटवललाई तोकेको बताए। उनले भने,‘दाङमा सभाहल, भवन केही थिएन। प्रदेशसभा बैठकका लागि हल नै चाहिन्थ्यो। त्यही भएर काम चलाउन तत्कालका लागि बुटवललाई अस्थायी तोकिएको हो। अब प्रदेशसभा बैठकले त्यो परिवर्तन गर्न सक्छ।’

फरक प्रसंगमा देउवाले संघीय संरचना अनुसार पार्टीको विधान बनाइसकेको र विस्तारै संगठन निर्माण हुँदै जाने बताए। 

के उजुरी परेको छ थाहा छैन

सभापति देउवाले आफूविरुद्ध अनुशासन समितिमा के उजुरी परेको भन्ने थाहा नभएको बताए। तपाईँमाथि अनुशासन उल्लंघनको उजुरी परेको छ नि भन्ने पत्रकारहरुको प्रश्नमा देउवाले भने,‘ के भो त राम्रो कुरा हो। जसले उजुरी हाल्यो उसैलाई सोध्नुस्। उजुरी के परेको छ मलाई थाहा छैन।’

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, चैत २०, २०७५