Kathmandu Press

भारतीय चुनाव फेसबुकको अग्निपरीक्षा

नयाँ दिल्ली : गत फेब्रुअरी १४ मा काश्मिरको फुलवामामा भएको आत्मघाती बम आक्रमणमा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी मारिए। विस्फोट गराउने आतंककारीलाई पाकि....

भारतीय चुनाव फेसबुकको अग्निपरीक्षा
न्यूयाेर्क टाइम्स्

नयाँ दिल्ली : गत फेब्रुअरी १४ मा काश्मिरको फुलवामामा भएको आत्मघाती बम आक्रमणमा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी मारिए। विस्फोट गराउने आतंककारीलाई पाकिस्तानले समर्थन गरेको आरोप भारतले लगायो। लगत्तै दुई देशबीच हवाइ युद्ध भयो। 

त्यो युद्ध आकाशमा मात्रै भएन, साइबर संसारमा पनि भयो। 

आतंककारीको क्याम्प बताइएको पाकिस्तानी क्षेत्रमा भारतले हवाइ आक्रमण गरेको एउटा भिडियो फेसबुकमा भाइरल भयो। खासमा त्यो एउटा ‘भिडियो गेम’को दृश्य थियो।

Hardik ivf

‘फ्याक्ट–चेकर्स’ले भिडियोमा देखिने लाश पाकिस्तानी लडाकूको नभएर सन् २०१५ मा हिट वेभका कारण ज्यान गुमाउने सर्वसाधारणको भएको बतायो। स्थानीय समाचार दोहोरो भिडन्तको ‘एक्सक्लुसिभ’ सामग्रीले भरिएका थिए। जुन अधिकांश झूटा थिए।

फेसबुकमा ‘फेक पोस्ट’को बाढी नै आयो । ‘एउटै समाचारबाट यति धेरै झूटा फैलिएको मैले कहिले देखेको थिइनँ,’ टुशार बरोटले ट्विट गरे। बरोट पहिले बिबिसिका पत्रकार थिए। हाल भारतमा फेसबुकका लागि दुष्प्रचार विरूद्धका प्रयास नेतृत्व गर्छन्।

फेक पोस्टको यस्तो बाढीले विश्वकै ठूलो निर्वाचनमा केसम्म हुनसक्छ भनेर फेसबुक प्रयोगकतालाई स्वाद चखाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टी (भाजपा) दोश्रो कार्यकालका लागि भिड्दैछन्। अप्रिल ११ देखि पाँच सातासम्म हुने लोकसभा चुनावमा ८७ करोड ९० लाख भारतीयले मतदान गर्ने अनुमान गरिएको छ।

चुनावको सरगर्मी बढ्दै जाँदा फेसबुकलाई आफ्नो सामाजिक सञ्जाल र व्हाट्सएपबाट डढेलो झैं सल्किरहेको दुष्प्रचार र ‘हेट स्पिच’ नियन्त्रण गर्न हम्मे परिरहेको छ।

भाजपा र प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेससँग सम्बन्धित सयौं नक्कली ‘अकाउन्ट’ र ‘पेज’ हटाइएको फेसबुकले सोमबार जानकारी दियो। तीमध्ये धेरैले गलत सूचना फैलाइरहेका थिए। पाकिस्तानी सेनाद्वारा सञ्चालित सयभन्दा धेरै नक्कली पेज र खाता पनि फेसबुकले हटाएको छ।

भारतमा विश्वकै धेरै ३४ करोड फेसबुक प्रयोगकर्ता छन्। यसका चुनौति पनि विशेष छन्। एक दर्जनभन्दा धेरै भाषामा पोस्ट र भिडियो अपलोड हुन्छ। कतिपय पोस्ट उम्मेदवार, राजनीतिक दल र सञ्चार माध्यमबाटै आउँछन्। सन्देश ‘इन्क्रिप्ट’ हुने भएकाले, व्हाट्सएपमा के शेयर हुन्छ कम्पनीलाई थाहा हुँदैन।

‘भारतीय चुनावका विशिष्ट मुद्दा छन्। भाषाको संख्या धेरै छ र मतदान पनि लामो समयसम्म हुन्छ,’ फेसबुकको सार्वजनिक नीति प्रमुख केटी हार्बथले भनिन्। फेसबुकले एक वर्षभन्दा लामो समयदेखि भारतीय निर्वाचनका लागि तयारी गरेको उनले बताइन्।

ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जाल पनि गलत समाचार र हेट स्पिचसँग जुझिरहेका छन्। उम्मेदवार र दलको प्रचार–प्रसार निगरानी गर्न निर्वाचन आयोगले अनलाइन सेवाहरूलाई पहिलो पल्ट आग्रह गरेको छ।

फेसबुकलाई अहिले ठूलो चुनौति छ। सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनदेखि फेसबुक सबैको तारो बनेको छ।

निर्वाचनताका फेसबुकमार्फत गलत सूचना प्रवाह भयो। निर्वाचन भाँड्न रूसी एजेन्टले फेसबुकको दुरूपयोग गरे। सन् २०१८ मा सम्पन्न मध्यावधि चुनावमा पनि विदेशी सञ्जालले मतदाता प्रभावित गर्ने प्रयास गरेको थाहा भयो। मेक्सिको र ब्राजिलमा पोहोर भएको निर्वाचनमा समेत फेसबुकबाट दुष्प्रचार गरियो।

भारतीय निर्वाचन फेसबुकका लागि अग्निपरीक्षा भएको कम्पनीका अधिकारीले बताएका छन्। फिलिपिन्स र इन्डोनेसियामा पनि निर्वाचन हुँदैछ। सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय  निर्वाचनमा प्रोपागान्डा, गलत सूचना र सम्भावित विदेशी हस्तक्षेपलाई फेसबुकले कसरी व्यवस्थापन गर्छ? यिनै निर्वाचनको परिणामले देखाउनेछ।

‘यस पटकको भारतीय चुनाव अमेरिकी राष्ट्रपतिय निर्वाचनको परीक्षणजस्तै हो। अमेरिका र अन्यत्र निष्पक्ष निर्वाचन कसरी हुन्छ यसले देखाउनेछ,’ ग्राहम ब्रुकीले भने । उनी फेसबुकको सहकार्यमा दुष्प्रचार अभियानको अध्ययन गरिरहेको ‘थिङ्क ट्याङ्क’ एट्लान्टिक काउन्सिलको डिजिटल फोरेन्सिक ल्याबका निर्देशक हुन्।

फेसबुकले भारतलाई सन् २०१४ देखि प्रयोगशाला बनाएको छ। भारतको पछिल्लो चुनाव त्यही साल भएको हो। चुनावमा फेसबुकले मोदीको अभियानसँग नजिकबाट काम गर्‍यो। फेसबुककै सहयोगबाट बराक ओबामापछि मोदी विश्वकै सर्वाधिक लोकप्रिय नेता बनेको अभियानका अधिकारी बताउँछन्।

प्रधानमन्त्री बनेपछि सामाजिक सञ्जालबाट कसरी शासन गर्ने भनेर फेसबुकले मोदीलाई सल्लाह दियो। सरकारी निकाय र अधिकारीलाई अनलाइन बनाइयो। सन् २०१५ मा फेसबुकका कार्यकारी प्रमुख मार्क जकरबर्गले मोदीलाई एउटा टेलिभिजन संवादका लागि सिलिकन भ्यालीस्थित फेसबुकको प्रधान कार्यालय डाके। सामाजिक सञ्जाललाई सरकारले कसरी प्रयोग गर्नसक्छ भनेर फेसबुकले भारतलाई नमूनाको रूपमा प्रस्तुत गर्‍यो।

त्यसयता, राजनीतिक दुष्प्रचारमा भएको वृद्धिसँगै विश्वभरका नेतासँग गाँसेको सम्बन्धलाई फेसबुकले त्यति प्रचारप्रसार गरेको छैन।

जनवरीमा फेसबुकको प्रथम भारत प्रमुख बनेका अजित मोहनले भने, ‘हामी भारत वा विश्वका कुनै पनि दलसँग आबद्ध छैनौं।’

अहिले भारतका सबै प्रमुख दलसँग दुष्प्रचारका अत्याधुनिक रणनीति छन्। झूटो सूचना वा जानकारी पोस्ट गर्नु, स्वार्थ अनुकुल फोटो र भिडियो हेरफेर गर्नु र किनेका सहयोगी र स्वयंसेवीको सञ्जालबाट ती पोस्ट संयोजन गर्नु ठूलो कुरा रहेन। यसले फेसबुकलाई भने अप्ठ्यारो भएको छ। अभिव्यक्ति स्वतन्त्रतालाई अप्ठ्यारो पार्न नचाहेको फेसबुकले जनाएको छ।

भारतमा हुने दैनिक पोस्टको सत्य–तथ्य परीक्षण गर्नलाई कम्पनीले पोहोरदेखि दुईटा स्वतन्त्र संस्थासँग काम गर्‍यो – बूम नामक स्थानीय समूह र हालै मात्र एएफपी। फेब्रुअरीमा थप पाँच संस्था पनि जुटे। अब उनीहरूले सातोटा भाषामा फेसबुकका पोस्ट अनुगमन गर्नसक्छन्। सुरूमा अंग्रेजी भाषाका पोस्टमात्रै अनुगमन हुन्थ्यो।

फेसबुकको ‘एल्गोरिदम’ले सम्भावित फेक पोस्टलाई ‘फ्याक्ट–चेकर्स’ अथवा सत्यतथ्य परीक्षण गर्ने व्यक्तिसम्म पुर्‍याउँछ। उनीहरूले नै कुन पोस्ट अनुसन्धान गर्ने, कुन नगर्ने निर्णय गर्छन्। फेसबुकमा निष्कर्ष प्रकाशन गरेपछि, ती झूटा पोस्टको ‘भिजिबिलिटि’ पनि घट्ने कम्पनीले जनाएको छ।

तथापि फेसबुकका केही फ्याक्ट–चेकर्स आफैंले पनि दुष्प्रचार छरिरहेका हुनसक्छन्। अल्ट न्युज नामक साइटले भर्खरै फेसबुकका दुई नयाँ साझेदार पत्ता लगायो। भारतको ठूला सञ्चार गृहमा पर्ने इन्डिया टुडे ग्रुप र जागरण मिडिया नेटवर्कले काश्मिर आक्रमण सम्बन्धी गलत सूचना दोहोर्‍याएर प्रकाशन गरेको अल्ट न्युजको निष्कर्ष छ।

गलत समाचारलाई फेसबुकले गम्भीर समस्याको रूपमा नहेर्ने अल्ट न्युजका संस्थापक प्रतिक सिन्हाले बताए। ‘यो सबै जनसम्पर्क बढाउने प्रयास हो,’ उनले भने। 

बूमका प्रबन्ध निर्देशक जेन्सी जेकबले प्रयोगकर्तालाई दुष्प्रचारको उजुरी गर्न सहज बनाउने लगायत फेसबुकले धेरै काम गर्न बाँकी रहेको बताए।

इन्डिया टुडेमा फ्याक्ट–चेकिङ प्रयासको नेतृत्व गर्ने बालकृष्णले गल्ती भएको र कम्पनीले तुरून्तै सच्याउने प्रयास गरेको बताए।

जागरण न्यु मिडियाका वरिष्ठ सम्पादक प्रत्युष रञ्जनले कम्पनीको फ्याक्ट–चेकिङ साइट विश्वास न्युजले बेग्लै काम गर्ने र कडाइका साथ आचारसंहिता पालन गर्ने बताए। अमेरिकी पत्रकारिता संस्था पोइन्टर इन्स्टिच्युट मार्फत फ्याक्ट–चेकरको प्रमाणिकरण र उनीहरूको नैतिक मापदण्ड परीक्षण गर्ने गरेको फेसबुकले जनाएको छ। 

निर्वाचनताका फैलिने झुटा समाचार नियन्त्रण गर्न भारतीय समाचार संस्थाहरूको वृहत सञ्जाल बनाउने फेसबुकको बेग्लै प्रयास लगानीको अभाव र एक जना मुख्य पत्रकार छुटिएपछि स्थगित छ।

प्रमुख विज्ञापनदाता र उनीहरूले गरेको खर्चबारे साप्ताहिक ‘रिपोर्ट’ पोस्ट गरेर कम्पनीले साइटमा गरिने राजनीतिक विज्ञापनमाथि प्रकाश पार्ने प्रयास पनि गरेको छ। फेब्रुअरी २१ देखि भारतको डाटा ट्रयाक गर्न थालेपछि यस्ता विज्ञापनमा १० करोड भारतीय रूपैयाँभन्दा धेरै लगानी भएको छ।

तर ती विज्ञापनका वास्तविक लगानीकर्ता काे हुन् ? फेसबुकले पारदर्शितामा जोड दिएको छैन। भारतका शीर्ष तीन राजनीतिक विज्ञापनदाता सबै भाजपासँग जोडिए पनि पार्टीसँग आबद्ध भएको कसैले खुलाएनन्।

फेसबुकलाई हेट स्पिच नियन्त्रण गर्न पनि कठिनाइ भइरहेको छ। निर्वाचनमा अझ बढ्ने अपेक्षा गरिएको छ।

उदाहरणका लागि, हैदरावादका कट्टर दक्षिणपन्थी हिन्दु विधायक राजा सिंह मुस्लिमलाई ‘गौ–हत्यारा’ भन्छन्। भारतका बहुसंख्यक हिन्दु गाईको पुजा गर्ने भएकाले सिंहको भाषणकै कारण कतिको ज्यान पनि गएको छ। हेट स्पिच सम्बन्धी नियम उल्लंघन गरेकोले फेसबुकले सिंहका केही पोस्ट हटाए पनि एउटा धम्कीपूर्ण अभिव्यक्ति भने उनको आधिकारिक फेसबुक पेजमा महिनौंसम्म रह्यो।

त्यो पोस्टमा उनले मुसलमानलाई ‘कुकुर’ भनेका छन् र उनीहरूको घाँटी रेट्ने कुरा गरेका छन्।

न्युयोर्क टाइम्सले यसबारे सोधपुछ गरेपछि फेसबुकले उक्त भिडियो हटायो। पछि सिंहको फेसबुक पेज पनि ‘डिलिट’ गर्‍यो।

एउटा अन्तर्वार्तामा मुसलमानबाट हिन्दुको प्रतिरक्षा मात्रै गरेको सिंहले बयान दिए। ‘उनीहरूलाई उनीहरूकै शैलीमा धम्क्याउनु आवश्यक छ,’ उनले भने।

थेनमोरी सोन्दराराजनले अमेरिकामा इक्वालिटि ल्याब्स नामक मानवअधिकारवादी समूह स्थापना गरेकी छिन्। संस्थाले हालै मात्र जातीय  र धार्मिक अल्पसंख्यकलाई आक्रमण गर्ने एक हजारभन्दा धेरै फेसबुक पोस्ट अध्ययन गरेको सोन्दराराजनले बताइन्। हेट स्पिच भनेर ‘रिपोर्ट’ गरिएका ८० प्रतिशत पोस्ट सामाजिक सञ्जालमै रहने र हटाइए पनि केही महिनापछि फेरि देखापर्ने अध्ययनले देखाएको छ।

अझ धेरै काम गर्नुपर्छ भनेर फेसबुकले बुझेको मोहनले बताए। समस्याहरू सम्बोधन गर्न कम्पनीले हालै भारतमा निर्वाचनको ‘वार रूम’ स्थापना गर्ने निर्णय गरेको छ।

‘यो क्रमिक रूपमा विकास हुनेछ र प्रभावकारी बन्दै जानेछ,’ उनले भने,’यसपटक सबै कुरा ठीक गर्न हामीले एकदमै इमान्दार हुनु जरूरी छ।’
न्युयोर्क टाइम्स

प्रकाशित मिति: ०६:५३ बजे, बुधबार, चैत २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्