प्रधानमन्त्री ओलीले भने–फर्सी जत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ?
काठमाडौं, १९ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्।
मंगलबार ६२ औं राष्ट्रिय....

काठमाडौं, १९ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्।
मंगलबार ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिए। ‘हाम्रो अहिलेको समस्या भनेको खेतीको खण्डिकरण हो। यसलाई रोक्नु पर्दछ र चक्ला खेती सुरु गर्नु पर्दछ,’उनले भने,‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ। त्यो ठूलो मात्रामा उत्पादन गर्नुपर्दछ। जसले गर्दा बजारीकरणमा समस्या हुँदैन।’
किसानहरुले कहिले सब्जी सडकमा फालेको, कहिले दुध पोख्नु परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताए। ‘एक डोको कोपी किन्न कोही आउँदैनन्, एक ड्रम दुध किन्न पनि ग्राहक भेटिँदैन,’उनले भने,‘गाउँभरी एकै प्रकारकोे सब्जी उब्जाउने हो र धेरै टन दुध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै पुग्छन्। किसानले उचित मूल्य पनि पाउँछन्। ”
प्रधानमन्त्री ओलीले विषादीका कारण नेपालीको स्वास्थ्य बिग्रदै गएको बताए। ‘खाने प्लेट सफा, चमेज सफा, भाडा सफा तर, चामल, सब्जी चाहीँ विषादी मिसिएको छ भने त्यसले स्वास्थ्यलाई फाइदा पुग्दैन,’प्रधानमन्त्री ओलीले भने। फलफूलका बोटविरुवामा नयाँ–नयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘फर्सी जत्रो सुन्तला बनाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउँछ,’ प्रधानमन्त्री ओलीले भने,‘लौकामा त्यस्तै, कल्चर गर्ने नाममा खानेकुरालाई नै पागल बनाइएको छ। यिनीहरुको मौलिक गुणलाई कायम राखे मात्र त्यसबाट प्राप्त हुने पोष्क तत्वहरु पाउन सकिन्छ।’










