Kathmandu Press

सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ गरिने

काठमाडौं‌, चैत १९: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकर....

सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ गरिने

काठमाडौं‌, चैत १९: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गर्ने भएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रक्रिया अघि बढाएको जानकारी दिए।

सिंहदरबारको उत्तर, पूर्व र दक्षीण भागमा रेट्रोफिटिङ कार्य भइरहेको छ। अध्ययनले सिंहदरबारको मुख्य पर्खालहरुमा ठूलो क्षति नभएको, प्रयोग भएका ईंटाहरु बलियो रहेको, केही काठहरु भने फेर्नु पर्ने देखाएको छ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक सम्पदा संरक्षणको अवधारणा अनुसार सिंहदरबारको रेट्रोफिटिङ गर्ने जानकारी दिए। उनले रेट्रोफिटिङको डिजाइन समेत प्राप्त भइसकेकाले प्रकृया छिट्टै अघि बढ्ने बताए। प्रतिनिधिसभा रहेको संसद्को पुरानो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव आएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो भवनलाई रेट्रोफिटिङ गरेर संरक्षण गर्ने कि नयाँ संरचना बनाउने त्यसबारे सुझाव दिन सांसद्हरुलाई आग्रह गरे। उनले परराष्ट्र मन्त्रालयबाट स्टेट हलका रुपमा कार्यक्रम अघि बढाउन सुझाव आएको जानकारी पनि दिए। 

सांसद गणेश पहाडीले संसदको पुरानो भवनलाई रेट्रोफिटिङ गर्नु भन्दा भत्काएर अन्तरार्ष्ट्रिय स्तरको बनाउन सुझाव दिएका थिए। बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धिहरु र कार्ययोजना प्रस्तुत गरे। समिति सभापति कल्याणी खड्काले पछिल्लो समय पुनर्निर्माणको कामहरु देखिने गरी भइहरेको बताउँदै गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण लगायतलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिइन्।

बैठकमा सांसदहरुले गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण, वस्ती स्थानान्तरण, पुनर्निर्माणको बजेट, सडक पुनर्निर्माण, खानेपानी, जीवीकोपार्जन, विद्यालय पुनर्निर्माण, सम्पदा पुनर्निर्माण लगायतबारे जिज्ञासा राखेका थिए।

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्