हुरीबतास प्रभावितलाई सुदूरपश्चिम सरकारको १ करोड रुपैयाँ सहयोग
धनगढी, चैत १९ः सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हुरीबतास पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार बिहान बसेक....
धनगढी, चैत १९ः सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हुरीबतास पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले आइतबार साँझ बारा र पर्साका विभिन्न क्षेत्रमा आएको हुरीबतासबाट प्रभावितहरुलाई एक करोड रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए। उनका अनुसार उक्त रकम प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गरिने छ।
मुख्यमन्त्री भट्टले देशभर आइपर्ने विपतमा सहयोग गर्नु आफूहरुको दायित्व भएकाले बारा र पर्साका हुरीबतास प्रभावितलाई सहयोग गर्ने निष्कर्षमा पुगेको बताए।
प्रदेश २ सरकारले हुरीबतासमा परी मृत्यु भएका परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सोमबार नै गरिसकेको छ भने प्रदेश नम्बर ३ को सरकारले पनि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ।
आइतबार साँझ आएको हुरीबतासका कारण कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्णपुर गाउँपालिका र परवानीपुर गाउँपालिकामा बढी धनजनको क्षति भएको छ। हुरीबतासका कारण अहिलेसम्म २९ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्। हुरीबतासले सयौं घरमा क्षति पु-याएको छ।






