क्रान्तिकारी माओवादीले चैत २४ मा काठमाडौंमा जुलुश र सभा गर्ने
काठमाडौं, चैत १९ : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले चैत २४ गते आन्दोलनको दोस्रो उत्कर्षको रुपमा काठमाडौंमा जुलुश प्रदर्शन गर्ने तयारी....

काठमाडौं, चैत १९ : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले चैत २४ गते आन्दोलनको दोस्रो उत्कर्षको रुपमा काठमाडौंमा जुलुश प्रदर्शन गर्ने तयारी गरेको छ । जुलुशपछि सभा आयोजना गरी पार्टीको क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछ।
सो पार्टीको बुटबलमा बसेको बैठकले चैत २४ को शक्ति प्रदर्शनलाई दोस्रो र त्यसपछि गरिने आम हड्तालको कार्यक्रमलाई तेस्रो उत्कर्षको रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । पार्टीको घोषित कार्यक्रमअनुसार चैत्र २४ को जनआन्दोलन दिवसलाई क्रान्तिकारी माओवादीले संघर्षकै रुपमा मनाउने तयारी गरेको हो।
प्राप्त समाचार अनुसार चैत २४ को जनप्रदर्शन तथा विशाल जनसभालाई भव्य र प्रभावकारी बनाउन क्रान्तिकारी माओवादीले पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, जबस–मोर्चा लगायत सिंगो शक्तिलाई परिचालन गरेको छ।
काठमाडौं उपत्यकासहित प्रदेश ३ लगायत देशका मुख्य मुख्य भागबाट जनता केन्द्रित गर्ने तयारीलाई समेत व्यापक बनाएको छ । पोस्टरिङ, वालिङ, व्यानरिङ तथा उपत्यकाका मुख्य-मुख्य स्थानमा गेट समेत बनाउने कामलाई तीव्र पारिएको छ।











