Kathmandu Press

हिमालतिर लाग्दै आरोही

काठमाडौं, चैत १९ : हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरू भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर आरोही गन्तव्यतर्फ जान थालेका छन्।<....

हिमालतिर लाग्दै आरोही
एजेन्सी

काठमाडौं, चैत १९ : हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरू भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर आरोही गन्तव्यतर्फ जान थालेका छन्।

सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमति प्राप्त गरेका छन् । यीमध्ये आठ सगरमाथा आरोहण समूह छन् । जसमा एक सय ७७ आरोही सदस्य छन्।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि एक सय सात आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि एक सय आठ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि चार सय १५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार तीन सयभन्दा बढी हिमाल रहेका छन्।

विभागकै पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार सोमबारसम्म हिमाल आरोहणबाट नौ करोड ३४ लाख २६ हजार आठ सय २७ रोयल्टी संकलन भएको छ । सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रोयल्टी जम्मा भएको थियो । अघिल्लो वर्ष सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार तीन सय १२ रोयल्टी उठेको थियो।

आरोहण अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने अनुमान गरिएको छ । गत वर्षको यही यामको चैत २० गतेसम्म ३४ आरोहण दलले निवेदन दिएकामध्ये १५ समूहले सगरमाथा आरोहण अनुमति लिएका थिए । वैशाखसम्म नै आरोही आउने भएकाले पनि आरोही बढ्नसक्ने बताइएको छ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले अनुकूल मौसमले यो याममा धेरै आरोही धमाधम गन्तव्यतर्फ जान थालेका हुन् । अघिल्लो वर्षको तुलनामा आरोहीको संख्या बढ्ने उनले बताए । ‘अहिलेसम्मको आँकडा हेर्दा हिमाल आरोहीको सङ्ख्या यसपटक बढ्ने देखिएको छ, दैनिक तीन÷चार आरोही समूहलाई आवश्यक निर्देशनसहितको जानकारी ‘ब्रिफिङ’ गरिरहेका छौं,’ महानिर्देशक घिमिरेले भने।

यो यामको आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सि)का लागि सगरमाथाको चुचुरोतर्फ खटिएको विभागले जनाएको छ । आरोही हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखि मात्र आरोहण शुरु हुने छ।

विभागका निर्देशक मीरा आचार्यका अनुसार विगतमा आरोहणमा भएका विकृतिजन्य गतिविधिलाई नियन्त्रण गरी आरोहणलाई विश्वसनीय र प्रभावकारी बनाउन खटिने सम्पर्क अधिकृतलाई विशेष जिम्मेवारीका साथ पठाइनेछ । आरोहणमा अनुशासन कायम गर्न आरोहणको यो यामदेखि सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रूपमा खटाइने विभागले जनाएको छ । ६ हजार पाँच सय मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोहण दलको संख्याअनुसार सम्पर्क अधिकृत खटिन्छन्।

सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति विदेशीसँग ११ लाख शुल्क लिन्छ । नेपालीले ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि ५० लाखसम्म खर्च गर्छन्।

मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजश्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन्। (रासस)

प्रकाशित मिति: ११:४२ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्