कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन
काठमाडौं, चैत १८ : नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनु....

काठमाडौं, चैत १८ : नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको संख्या बढ्दै गएको छ।
दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेपनि भाषा परीक्षाका लागि माग भन्दा झण्डै ९ गुणा बढी आवेदन परेको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुन गएराति १२ बजेसम्म ९२ हजार तीन सय ७६ जनाले आवेदन फारम भरेका छन्।
त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार चार सय ८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार आठ सय ८९ ले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाको आवेदन यही चैत ८ गते राति १२ बजेदेखि खुल्ला गरिएको थियो । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने छ।
सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार दुई सय ६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै सन् २०१७ मा ६८ हजार तीन सय ८३ र सन् २०१६ मा ६० हजार ६ सय २६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । सन् २०१५ मा ५१ हजार एक सय ३७, सन् २०१४ मा ५८ हजार सात सय ४६, सन् २०१३ मा ४४ हजार एक सय २२ ले कोरियाली भाषा परीक्षामा सहभागिता जनाएका थिए।
यसैगरी सन् २०११ मा ५० हजार ४३, सन् २०१० मा ३६ हजार तीन सय दुई र पहिलो पटक सन् २००८ मा ३१ हजार पाँच सय २५ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका सो शाखाले जनाएको छ।
कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नेपाली दक्षिण कोरिया जाँदै आएका छन्।
कामदार कोरिया पठाउने सम्बन्धमा मेनपावर व्यवसायीको कुनै संलग्नता स्वीकार नगरिएकाले नेपाली कामदार ठगिनेदेखि भनेअनुसारको काम र पारिश्रमिक नपाउने अवस्था छैन।
कामदारले आफूले फाराम भर्दाकै क्रममा उल्लेख गरेका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्नेछन् भने कोरिया सरकारले तोकेको श्रमिकका न्यूनतम् पारिश्रमिक पाउँदै आएका छन् । एक दशकको अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन्।
सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार नौ सय ९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार सात सय नौ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ। (रासस)











