गम्भीर घाइते ११ लाई काठमाडौं ल्याइयो, ३४३ को तराईमै उपचार
काठमाडौं, चैत १८ : हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ । ६ सयभन्दा बढी घाइते भएका छन् । गम्भीर घाइते ११ जनालाई काठमाडौं ल्याइएको छ।<....
काठमाडौं, चैत १८ : हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ । ६ सयभन्दा बढी घाइते भएका छन् । गम्भीर घाइते ११ जनालाई काठमाडौं ल्याइएको छ।
आइतबार रातिदेखि नै घाइतेहरूलाई अस्पताल लगिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उनीहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पु¥याएका थिए।
घाइतेमध्ये तीन सय ४३ जना उपचार पछि घर फर्किएका छन् भने अन्यको स्थानीय अस्पतालदेखि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।
गम्भीर घाइते ११ जनालाई शिक्षण अस्पताल, महराजगञ्ज ल्याइएको छ । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
त्यस्तै, नारायण उपक्षेत्रीय अस्पतालमा एक सय १६ जनाको उपचार भइरहेको छ । वीरगञ्जस्थित नेसलन मेडिकल कलेजमा एक सय, वीरगञ्ज हेल्थ केयरमा ३९, कलैया अस्पतालमा ३८ जनाको उपचार भइरहेको छ ।
यसैगरी, वीरगञ्जस्थित गण्डक अस्पतालमा २८, एडभान्स अस्पतालमा २० र तराई अस्पतालमा दुई जनाको उपचार भइरहेको प्रदेश २ सरकारले जनाएको छ।
त्यस्तै, सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । चोटपटक लागेका स्थानीय बासिन्दाको स्थानीय स्वास्थ्य संस्थामै उपचारको व्यवस्था मिलाएको जनाएको छ।






