धनी देशका मन्त्री नबोलाएर किन म्यानमारका मन्त्रीलाई अतिथि बनाइयो लगानी सम्मेलनमा?
काठमाडौं, चैत १७ः सरकारले आयोजना गरेको संसारभरिका निजी लगानीकर्ताहरूको सम्मेलनमा नेपालजस्तै पूर्वी–एसियाको एउटा गरिब देश म्यानमारका लगानी त....
काठमाडौं, चैत १७ः सरकारले आयोजना गरेको संसारभरिका निजी लगानीकर्ताहरूको सम्मेलनमा नेपालजस्तै पूर्वी–एसियाको एउटा गरिब देश म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्धमन्त्री यु थाउङ टुङलाई किन प्रमुख राजनीतिक वक्ताको रूपमा मञ्चमा आसिन गराइयो? अहिले यो प्रश्न धेरैको मनमा उठेको छ।
लगानी तथा विदेश आर्थिक सम्बन्धमन्त्री टुङ न कुनै विलिक्षण वक्ता थिए, न वैदेशिक लगानीका क्षेत्रका ज्ञाता नै। न म्यानमार त्यस्ता धेरै धनाढ्यको मुलुक हो, जहाँका लगानीकर्ताले नेपालमा ठूलै लगानी गर्ने अवसरका रूपमा हेर्छन्। नेपालजस्तै वैदेशिक लगानी खोजिरहेको देशका मन्त्री टुङलाई विशेष वक्ताको रूपमा नेपाल सरकारले आमन्त्रण गर्नुमा म्यानमारकी नेतृ त्यहाँकी स्टेट काउन्सिलर आङसाङ सुकीको प्रधानमन्त्री केपी ओलीसहित नेपाली नेताहरूसँग रहेको घनिष्ठ सम्बन्धले काम गरेको राजनीतिक नेताहरूको विश्लेषण छ।
तीन वर्षअघिको सम्मेलनमा भारतका अर्थमन्त्री अरुण जेट्ली प्रमुख वक्ता थिए। त्यसबेला यसपटकजस्तो आश्चर्य मानिएको थिएन। अमेरिका, भारत वा चीन जस्तै धेरै लगानी आउने देशका कोही मन्त्री प्रमुख वक्ता बोलाएको भए राम्रो हुन्थ्यो भन्ने आम धारणा छ। कतै भारतलाई नै सन्देश दिन पो बोलाइएको हो कि भन्ने विश्लेषण गर्ने पनि छन्।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने, ‘म्यानमारका मन्त्रीले निकै सम्भावना भएका लगानीकर्ताको व्यक्तिहरूको राम्रो टीम लिएर आएका थिए। त्यसैले हामीले उनलाई विशेष स्थान दिएका हौँ।’ उनले म्यानमारलाई लगानी गर्न नसक्ने देशका मन्त्री भन्ने हिसाबले व्याख्या गर्न नमिल्ने बताए।
म्यानमारकै मन्त्रीसँग उही मञ्चमा बसेका अर्का वक्ता प्रतिपक्षी दल कांग्रेस नेता पूर्व अर्थमन्त्री रामशरण महतले भने, ‘सामान्यतया निजी लगानीकर्ताको सम्मेलनमा मन्त्री जाँदैनन्। उनलाई वक्ता भनेरै सरकारले बोलायो होला र आए। मन्त्रीजस्तो प्रतिष्ठित व्यक्ति आएपछि त्यत्तिको सम्मान दिनै पर्यो।’ मन्त्री महतले आफू मन्त्री छँदा पनि त्यस्ता निम्ता आउने गरे पनि आफू नजाने गरेको पनि बताए।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर पाण्डेले म्यानमारका मन्त्रीलाई प्रमुख राजनीतिक वक्ताका रूपमा अघि सार्नुलाई स्वाभाविक मान्न नसकिने बताए। ‘म्यानमारलाई नम्बर १ मा राखेर सरकारको कूटनीतिक भूमिका सुदृढ हुन्छ भन्ने लाग्दैन’, काठमाडौंप्रेससँग कुरा गर्दै उनले भने, ‘म्यानमारका रोहिंग्या मुस्लिम अल्पसंख्यकमाथि त्यहाँको सरकारको व्यवहारपछि लोकतान्त्रिक हिसाबले हेर्दा पनि त्यहाँको सरकार विवादमा छ। लोकतन्त्रको नाउँमा जातिवादी राजनीतिमा लागेको सरकारको प्रतिनिधिलाई यत्रो मञ्च दिनु कूटनीतिक हिसाबले पनि राम्रो हैन।’
पूर्व परराष्ट्रमन्त्री समेत भइसकेका कांग्रेस नेता महत चाहिँ म्यानमारको प्रजातन्त्रमाथि नै प्रश्न उठाउँदैनन्। उनले लगानी मन्त्री नै भएकाले फोरममा बोलाउन नमिल्ने पात्र भन्न नमिल्ने पनि बताए। डा. महतले भने, ‘आयोजकले किन बोलाए, त्यो सरकारले जान्ने विषय हो।’
म्यानमारका लगानी मन्त्री यु थाउङ टुनले चाहिँ नेपालको लगानी सम्मेलनमा आएका करिब साढे ६ सय प्रतिनिधिलाई सम्बोधन गर्दै नेपालसँगै आफ्नो देश म्यानमारमा पनि लगानी गर्न आग्रह गरे। उनले भने, ‘विश्वमा वैदेशिक लगानीको स्थिति निराशाजनक छ तर एसियामा विदेशी लगानीको आउनु जरुरी छ। नेपाल र म्यानमार दुवै देशले आर्थिक उन्नति गर्दैछन्। आज हामीलाई लगानीको खाँचो छ।’






