Kathmandu Press

ओखलढुंगा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो

ओखलढुंगा, चैत १७ः ओखलढुंगामा भएको स्कार्पियो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।

....

 ओखलढुंगा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो
फाइल फोटो

ओखलढुंगा, चैत १७ः ओखलढुंगामा भएको स्कार्पियो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।

सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं जाँदै गरेको बा १६ च २२०७ नम्बरको स्कार्पियो आइतबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका–७ भण्डारे खोलामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी ताप्लेजुङको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। यस्तै, गम्भीर घाइते भएका काठमाडौं नयाँबस्तीका ४५ वर्षीय कुङसिङे शेर्पाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कृष्ण श्रेष्ठसहित तीनै जनालाई घुर्मीमा रहेको आस्था अस्पतालमा उपचारपछि हेलिकोप्टरमार्फत ग्रान्डी अस्पताल ल्याइएको थियो। घाइतेमध्ये चालक कृष्ण श्रेष्ठ र मिङमा शेर्पाको ग्राण्डी अस्पतालमै उपचार भइरहेको छ। जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, चैत १७, २०७५