Kathmandu Press

न्याय परिषद् सदस्य वैदिकलाई सर्वोच्चको न्यायाधीश बनाउने तयारी

काठमाडौं, चैत १७ः न्याय परिषद् सदस्य पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउने तयारी गरिएको छ।

परिषद् सदस्य रहेका वैदिकलाई राजीना....

न्याय परिषद् सदस्य वैदिकलाई सर्वोच्चको न्यायाधीश बनाउने तयारी

काठमाडौं, चैत १७ः न्याय परिषद् सदस्य पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउने तयारी गरिएको छ।

परिषद् सदस्य रहेका वैदिकलाई राजीनामा गराएर सर्वोच्चको न्यायाधीश बनाउने तयारी गरिएको हो। वैदिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन्। दाङका वैदिक माओवादी द्वन्द्वकालदेखि नै प्रचण्डसँग निकट थिए। नेपाल बार एसोसिएसनको मध्यपश्चिमाञ्चल उपाध्यक्ष भइसकेका वैदिकलाई आफू प्रधानमन्त्री हुँदा प्रचण्डले न्यायपरिषद् सदस्य बनाएका थिए।

प्रचण्डकै दबाबमा वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउने तयारी थालिएको स्रोतले जनाएको छ। न्याय परिषद् सदस्य वैदिकको कार्यकाल एक वर्ष बाँकी छ। पूर्वमाओवादी नेतासमेत रहेका सभामुख कृष्णबहादुर महरा लगायत नेताहरुले वैदिकलाई राजीनामा गराएर कुनै पनि हालतमा सर्वोच्चको न्यायाधीश बनाउनु पर्ने अडान नछोडेपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि वैदिकलाई सर्वोच्च लैजान सहमत भएको स्रोतको भनाइ छ।

प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्मा हाल वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, वैदिक, रामप्रसाद सिटौला र कानूनमन्त्री भानुभक्त ढकाल पदेन सदस्य रहेका छन्। स्रोतका अनुसार वैदिकले छिट्टै न्याय परिषद् सदस्यबाट राजीनामा  दिँदैछन्। छिट्टै बस्ने परिषद् बैठकले वैदिकलाई न्यायाधीश बनाउने तयारी गरेको छ। न्याय परिषद् सचिवालय स्रोतले सोमबार न्याय परिषदको बैठक बस्ने तयारी भएको बतायो। उक्त बैठकमा वैदिकले सदस्यबाट राजीनामा दिने र सर्वोच्चको न्यायाधीश नियुक्तिका विषयमा छलफल हुने बताइएको छ।

लामो समयदेखि सर्वोच्चमा ५ जना न्यायधीश रित्त हुँदा न्याय प्रणालीमै असर पर्दै आएको छ। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएदेखि अर्वोच्चमा न्यायाधीश नियुक्त भएको छैन। त्यसपछि प्रधानन्यायाधीशहरु गोपाल पराजुली र ओमप्रकाश मिश्र तथा न्यायाधीशहरु दीपकराज जोशी र केदारप्रसाद चालिसेले अवकाश लिएका थिए।

२१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले १२ जना मात्रै न्यायाधीश छन्। सर्वोच्चमा अहिले २३ हजार मुद्दा दर्ता छन्। मुद्दाको चापले हरेक दिन पेशी तोकिने र पछि हेर्न नभ्याइने भन्दै मुद्दाको सुनुवाई पछि सर्ने गरेका छन्।

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, चैत १७, २०७५