Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्रसँग यो सरकारलाई तुलना नगरे हुन्छ: मन्त्री बाँस्कोटा 

काठमाडौं, चैत १७: सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले वर्तमान सरकालाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका छन्।&....

पूर्वराजा ज्ञानेन्द्रसँग यो सरकारलाई तुलना नगरे हुन्छ: मन्त्री बाँस्कोटा 

काठमाडौं, चैत १७: सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले वर्तमान सरकालाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका छन्। 

मन्त्री बाँस्कोटाले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेकाले स्वतन्त्रताको नाममा सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह गरे। सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित नहुने उनको भनाइ छ।

आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने,‘ प्रेस स्वतन्त्रता अपहरित हुँदैन। यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगरे हुन्छ। उसको र यो सरकारको पृष्ठभूमि र उद्देश्य नै फरक छ। कुनै तुलना हुनै सक्दैन।’ 

सरकारका प्रवक्तासमेत रहेका उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको बताए। उनले भने,‘ प्रतिष्ठित पत्रकारहरु, वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन्। पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भ्रमणमा के  समाचार छाप्नुभयो? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले? के लेखियो भनेर? आफ्नो धोती फुस्केको थाहा छैन। सरकारमाथि ख्याउ ख्याउ... अचम्म लाग्छ।’

बाँस्कोटाले कम्युनिष्ट सरकार मन परेन भन्न पाइने भएपनि जथाभावी आलोचना भने नसुहाउने बताए।  उनले यो वर्ष नेपालको मिडिया क्षेत्रमा विशेष काम भएको दाबी पनि गरे। ‘यो वर्ष मिडियाको क्षेत्रमा विशेष हुँदैछ। समानुपातिक समावेशी विज्ञापन र क्लिन फिड लागु गर्दैछौं। के यो काम गर्नु नराम्रो हो?’ उनले भने।

मन्त्री बाँस्कोटाले मिडिया क्षेत्र असुरक्षित नरहेको जिकिर गरे। उनले भने,‘यो वर्षबाट मिडिया क्षेत्र बरु सुरक्षित भएको छ। सरकारले दम्भ देखाएको छैन्। हामी काम गर्छौं।’ 

प्रकाशित मिति: १६:२१ बजे, आइतबार, चैत १७, २०७५