प्रचण्डले भने–म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि!
काठमाडौं, चैत १७: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिका गएका बेला आफूलाई अपराधीको रुपमा चित्रित गरेर....
काठमाडौं, चैत १७: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिका गएका बेला आफूलाई अपराधीको रुपमा चित्रित गरेर उजुरी गरेकोप्रति असन्तुष्टि जनाएका छन्।
उनले अमेरिकामा रहेका नेपालीहरुले नै आफूलाई हत्याराको रुपमा हेरेर पक्राउ गर्न उजुरीसमेत दिएको बताए। राष्ट्रिय सभा गृहमा आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘एउटा नेपालीले नै मलाई हत्यारको रुपमा दुनियाको अगाडि, नेपालभित्रै बसेर अलिअलि गर्न मिल्छ। नेपाली–नेपालीबीच आलोचना हुन सक्छ। तर विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा हस्ताक्षरकर्तालाई अपराधीको रुपमा प्रस्तुत गरेर अन्तराष्ट्रिय जगतले पक्राउ गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्क संगत छ?’
अमेरिका जाँदाको तितो अनुभव भोगेको भन्दै प्रचण्डले आफू वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटीले निर्णय गरेर अपराधीको रुपमा प्रस्तुत गरेकोमा आपत्ति जनाए। उनले आफूले श्रीमतीको उपचारमा जाँदा समेत अपराधीको रुपमा हेरिनु दुःखद भएको बताए। ‘मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला। शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो,’ प्रचण्डले प्रश्न गरे।
प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो। प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो।
फरक प्रसंगमा प्रचण्डले राजतन्त्रको अन्त्यपछि पनि फेरि पुरानै अवस्थामा मुलुकलाई उल्ट्याउने कुरा निरकुंशतावादी शक्तिको दिमागमा रहिरहनु सामान्य भएको बताए। तर, इतिहासको एउटा मञ्चमा मिल्काइएको कुनै पनि शक्तिलाई अब कसैले पनि आत्मसात नगर्ने उनले बताए।
‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव छ। तर, यो परिवर्तनलाई कमजोर पार्न खोजिरहेका छन्,’उनले भने। बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्ने उनको तर्क थियो। प्रचण्डले सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गरे। प्रचण्डले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको बताए। अप्ठ्यारो परिस्थितिमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको उनले बताए। कोही एक दल वा व्यक्तिको पहलमा अहिलेको अवस्था नआएको उनले स्पष्ट पारे।
‘सत्तापक्ष र प्रतिपक्ष छ। आलोचना र विवाद हुनुपर्छ,’उनले भने,‘तर राष्ट्र हितमा सबैबीच समझदारी आवश्यक छ।’ संविधान संशोधनको मागप्रति लक्षित गर्दै उनले सबै असन्तुष्टिलाई सम्बोधन गरेर संविधानलाई गतिशिल दस्तावेजको रुपमा स्थापित गर्नुपर्ने बताए।






