नेपालमा द्वन्द्व चर्काउने प्रयास धेरै पटक असफल बनायौंः प्रधानमन्त्री ओली
काठमाडौं, चैत १७: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताएका छन्।
काठमाडौंमा आइतबार रिपोर्ट....
काठमाडौं, चैत १७: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताएका छन्।
काठमाडौंमा आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानून निर्माण र संरचना बनाइएको बताए। ‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं,’उनले भने,‘समृद्ध नेपाल, सुखी नेपालीको सबै आधार तयार भएको छ।’
समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक–पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको बताए। ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो ल्याउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छौं,’उनले भने,‘अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ। एकजुट अवस्थामा छ।’
प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न आग्रह गरे।






