१३०७ पदकका लागि ५२११ खेलाडीको प्रतिस्पर्धा
काठमाडौं, चैत १७ : आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश ५ का विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार तीन सय सात पदकका लागि पा....

काठमाडौं, चैत १७ : आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश ५ का विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार तीन सय सात पदकका लागि पाँच हजार दुई सय ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन्।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला खेलाडी सहभागि हुने छन्।
प्रतियोगितामा तीन सय ७२ स्वर्ण, तीन सय ७२ रजत र पाँच सय ६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीलाई १५ हजार र सामूहिक स्पर्धातर्फ सात हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।
त्यस्तै, प्रतियोगितामा राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा प्रशिक्षक ६ सय ४० र व्यवस्थापक चार सय ६१ जनाको सहभागिता रहनेछ । ३५ खेलमा प्रतिस्पर्धा हुने छ । जसमा फुटबल, एथलेटिक्स, बक्सिङ्ग, भारोक्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराँते, कुस्ती, फेन्सीङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराँते र हक्की रहेका छन्।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक नौ सय २२ र स्थानीय निर्णायक चार सय ७१ गरी एक हजार तीन सय ९३ जनाको सहभागिता रहनेछ । खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियल समेत गरी १० हजारको सहभागिता रहने राखेपले जनाएको छ।
प्रतियोगितामा विभागीय टोलीबाहेकको खेलाडी तथा अफिसियलको खाना, बसोबासका लागि चार करोड ६७ लाख १७ हजार दुई सय खर्च लाग्ने छ भने रेफ्रीहरूको यातायात र निर्णायक भत्तातर्फ ५६ लाख ३३ हजार पाँच सय लाग्ने परिषद्ले जनाएको छ।
जिल्लास्तरीय खेलाडी छनौटका लागि जिल्लामा खेलाडी दर्ता भएको आधारमा कोटा निर्धारण गरी ७७ जिल्ला खेलकुद विकास समितिबाट खेलाडी छनौट सम्पन्न गरिसकिएको र यसका निमित्त तीन करोड पाँच लाख ४० हजार खर्च भएको परिषद्ले जनाएको छ।
प्रदेश प्रतियोगिता तथा छनौट, बन्द प्रशिक्षण, यातायात समेतका लागि सातै प्रदेशलाई १९ करोड ९० लाख निकासा गरी प्रदेश ३ र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो छनौटबाहेक ३५ वटै खेलका खेलाडीहरू छनौट भइसकेका छन् । प्रदेश ३ को तेक्वान्दो खेलको प्रदेश छनौट यही चैत २३ देखि २५ गतेसम्म हुने र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो खेलको प्रदेश छनौट यही चैत २० देखि २२ गतेसम्म हुने छ।
परिषद्का अनुसार विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई खेलाडी छनौट तथा खेल सामग्रीका निमित्त सात लाखका दरले २१ लाख निकासा गरिसकिएको र सम्बन्धित विभागबाट खेलाडी छनौट भई विभागमै प्रशिक्षणरत् रहेका छन्।
गैर आवासीय नेपाली सङ्घ (एनआरएन)को तर्फबाट नौ देशका २४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा एक सय २५ ‘भोलेन्टियर’ प्रशिक्षकलाई ७७ जिल्ला खेलकुद विकास समिति र सातै प्रदेशमा प्रशिक्षण गराउने गरी नियुक्ति दिई कामकाजमा लगाइएको छ।
प्रतियोगिताका लागि ४३ करोड ८५ लाख ५१ हजार ६ सय ५० खर्च लाग्ने र चालु आर्थिक वर्षमा विनियोजित १७ करोड ८४ लाख ५९ हजार र अर्थ मन्त्रालयले थप निकासा गरेको १५ करोड गरी ३२ करोड ८४ लाख ५९ हजार राष्ट्रिय खेलकुद परिषद्का नाममा निकासा भइसकेको छ । अपुग हुने ११ करोड ९२ हजार ६ सय ५० रुपैयाँ निकासाका निमित्त युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गरिएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले बताए।
प्रतियोगितामा सहभागी हुने प्रदेश तथा राष्ट्रिय प्रतियोगिताको खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री, खेल सङ्घ प्रतिनिधिको संख्या तथा कोटा निर्धारण भइसकेको तथा प्रतियोगिताका निमित्त खेल सामग्रीको व्यवस्था भइसकेको छ । आठौँ राष्ट्रिय खेलकदको समुद्घाटन नेपालगन्ज रङ्गशालामा वैशाख ५ गते साँझ गरिने छ भने समापन वैशाख ११ गते साँझ नेपालगन्ज रङ्गशालामै हुनेछ।
वैशाख ५ गते औपचारिक उद्घाटन गरिने भए पनि प्रतियोगितामा समावेश केही खेल भने चैत २७ गतेदेखि नै शुरु गरिने राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका खेलहरु बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ।
बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याण्डबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन्।
त्यसैगरी दाङमा महिला फुटबल, एथलेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लन टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ।
बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौंमा गर्न लागिएको हो।
प्रत्येक दुई/दुई वर्षको अन्तराल गर्ने लक्ष्यसहित ०३८ मा शुरु भएको राष्ट्रिय खेलकुदको शुरुका तीन संस्करणबाहेक कुनै पनि राष्ट्रिय खेलकूद दुई वर्षको अवधिमा हुन सकेको छैन। (रासस)











