पशुपक्षी हाटबजारदेखि कवि गोष्ठी उद्घाटन गर्न प्रधानमन्त्री झापा–मोरङ जाँदै
काठमाडौं, चैत १७: प्रधानमन्त्री केपी शर्मा ओली पशुहाट बजारदेखि कवि गोष्ठी उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन झापा र मोरङ जाँदै छन् । आज उपत्यका बाह....

काठमाडौं, चैत १७: प्रधानमन्त्री केपी शर्मा ओली पशुहाट बजारदेखि कवि गोष्ठी उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन झापा र मोरङ जाँदै छन् । आज उपत्यका बाहिर जाने प्रधानमन्त्री ओली दुई दिन त्यही रहने कार्यक्रम तय गरिएको छ।
आईतबार र सोमबारको झापा–मोरङ बसाइमा प्रधानमन्त्री ओलीले एक दर्जन कार्यक्रममा सहभागिता जनाउँने जनाएको छ । जसमध्ये आज मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन गर्ने छन्।
त्यस्तै, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
आईतबार नै उनले दमक नगरपालिका परिसरमा साहित्यिक गोष्ठीको उद्घाटन गर्ने छन् । जसमा प्रदेश १ का साहित्यकारको सहभागिता रहने जनाएको छ।
त्यससँगै, मदन भण्डारी रंगशालासम्बन्धी छलफलमा पनि सहभागी हुने छन् । त्यसपछि गौरादह र दमक नगरपालिका जनप्रतिनिधिसँग भेटघाट तथा छलफलको कार्यक्रम रहेको छ।
सोमबार बिहान नेकपाकोे नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुने छन् । जुन, दमक रेडक्रसको हलमा आयोजना हुने छ।
त्यसपछि सोमबार नै प्रधानमन्त्रीले दमकमा निर्माण भएको पशुपक्षी हाटबजारको उद्घाटन गर्ने छन्।
यसका अतिरिक्त कार्यकर्ता तथा स्थानीय प्रशासनका अधिकारीसँगको भेटघाट र छलफल पनि जारी रहने जनाएको छ।











