Kathmandu Press

डाक्टर श्रीमानको कुटाइबाट घाइते सुनिताको मृत्यु

काठमाडौं, चैत १५ : श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पर्साको वीरगञ्ज महानगरपालिका–२० की सुनिता यादवको मृत्यु भएको छ। श्रीमान डाक्टर सचित....

डाक्टर श्रीमानको कुटाइबाट घाइते सुनिताको मृत्यु

काठमाडौं, चैत १५ : श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी पर्साको वीरगञ्ज महानगरपालिका–२० की सुनिता यादवको मृत्यु भएको छ। श्रीमान डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते भएकी ३६ वर्षीया सुनिताको शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

श्रीमान सचितानन्दको कुटाइबाट घाइते भएकी यादवलाई सुरुमा नारायण उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँबाट रिफर गरेपछि यादवलाई वीरगञ्ज हेल्थ केयरमा लगिएको थियो।  हेल्थ केयरमा उपचार सम्भव नभएपछि यादवलाई गत चैत १२ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञका रुपमा कार्यरत डा. सचितानन्दले श्रीमती सुनितालाई गत चैत ६ गते कुटपिट गरेका थिए। सुनिता डा. सचितानन्दकी जेठी श्रीमती रहेको प्रहरीले जनाएको छ। सुनिताबाट सन्तान नभएपछि उनले कान्छी श्रीमती भित्र्याएका थिए। कान्छी श्रीमती भित्र्याएपछि सुनिता र सचितानन्दको सम्बन्ध बिग्रेको थियो।

निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएपछि यसअघि सुनिताका माइती पक्षले डा. सचितानन्द उनका बुवा नागेन्द्र, आमा आशादेवी र भाइ अचितानन्दविरुद्ध गत चैत १२ गते नै प्रहरीमा मुद्दा दर्ता गराएका थिए।

पत्नी सुनितालाई कुटपिट गर्ने डा. सचितानन्दलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, चैत १५, २०७५