सरकार निर्माण व्यवसायीसँग हातेमालो गर्न तयार छः मन्त्री राई
काठमाडौं, चैत १५: सहरी विकास मन्त्री महोम्मद इश्तियाक राईले मुलुकको विकास र समृद्धिका लागि सरकार निर्माण व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बता....

काठमाडौं, चैत १५: सहरी विकास मन्त्री महोम्मद इश्तियाक राईले मुलुकको विकास र समृद्धिका लागि सरकार निर्माण व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताएका छन्।
काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १६ औं साधारणसभालाई शुक्रबार उद्घाटन गर्दै मन्त्री राईले निर्माण व्यवसायीप्रति राज्यको प्रष्ट दृष्टिकोण रहेकाले हातेमालो गर्न तयार रहेको बताएका हुन्। कार्यक्रममा सरकारले निर्माण व्यवसायीलाई अर्बौं रकम भुक्तानी गर्न बाँकी रहेको गुनासो गरेका थिए। उनीहरुले सार्वजनिक खरिद नियमावली निर्माणका क्रममा छलफल नगरिएको भन्दै गुनासो समेत पोखेका थिए।
तर, मन्त्री राईले राज्यले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम क्रमश भुक्तानी गर्ने बताए। उनले व्यवसायीलाई सरकारलाई दोषमात्रै दिएर नहुने र आफ्ना कमजोरी समेत सुधार्न आग्रह गरे। ‘सरकारलाई दोष दिएर मात्रै हुँदैन। हाम्रो तर्फबाट कमजोरी भएको भए हामी सुधार गर्छौं। तर, तपाईँहरुले पनि आफ्नो कमजोरी सुधार्नुपर्छ,’ मन्त्री राईले भने।











