Kathmandu Press

विकास साझेदार र लगानीकर्ताको घोषणा: ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा साथ दिन्छौं  

काठमाडौं, चैत १५ः लगानी सम्मेलन भाग लिन आएका लगानीकर्ता र विकास साझेदारहरुले ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई साथ दिने घोषणा गरे....

 विकास साझेदार र लगानीकर्ताको घोषणा: ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा साथ दिन्छौं  

काठमाडौं, चैत १५ः लगानी सम्मेलन भाग लिन आएका लगानीकर्ता र विकास साझेदारहरुले ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई साथ दिने घोषणा गरेका छन्।

शुक्रबारदेखि सुरु भएको लगानी सम्मेलनको उद्घाटन सत्रदेखि ‘प्यानल’ छलफलमा सहभागीहरुले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानलाई साथ दिने घोषणा गरेका हुन्। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई सार्थक बनाउन विदेशी लगानी आवश्यक रहेकाले उचित वातावरण बनाउन लागि परेको बताएका थिए। अभियानलाई अझ प्रष्ट पारेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेपश्चात बोलेका अधिकांश विकास साझेदार र लगानीकर्ताहरुले सोही नारामै केन्द्रित रहेर मन्तव्य समेत राखेका थिए। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को संकल्पलाई पूरा गर्ने गरी लगानी गर्न तयार रहेको बताए। ‘पछिल्ला दिनमा नेपाल सरकारले सुधार गरेका कानूनी संरचनाका कारण थप लगानीयोग्य वातावरण बनेको छ,’ उपाध्यक्ष स्याफरले भने। 
उनले निजी क्षेत्रले समेत सकारात्मक रुपमा लगानी गर्नसक्ने वातावरण तयार भएको बताउँदैे आफूहरु निजी लगानीकर्तासँग सहकार्य गर्न इच्छुक रहेको बताए।

नेपालको  ऊर्जा क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको भन्दै उनले दीर्घकालीन लगानीका लागि समेत तयार रहेको घोषणा गरेका थिए।  उनले नेपाल दुई ठूला आर्थिक रुपमा शक्ति सम्पन्न हुँदै आएका देशका बीचमा रहेका कारण पनि लगानीका लागि थप उपयुक्त रहेको उनको भनाइ थियो।  विश्व बैंकले नेपाललाई विगत ५० वर्षदेखि लगानी गर्दै आएको उनले बताए।

एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिजिन चेनले पनि ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई सार्थक बनाउन ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गर्ने विश्वका लगानीकर्तालाई अवसर रहेको बताए। उनले एडीबीले पनि हाल विभिन्न क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै थप लगानीका लागि समेत रणनीति तयार गरिएको बताए। उनले मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरेको र ती आयोजना सम्पन्न हुने चरणमा पुगेको भन्दै अन्य ठूला लगानीका क्षेत्रमा समेत सहयोग गर्न इच्छुक रहेको बताए। 

सम्मेलनमा म्यामारका लगानी तथा विदेश आर्थिक सम्बन्धी मन्त्री यू थाउङ टुनले दक्षिण एसियामा पछिल्लो समयमा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा बढ्दै गएको र सोही अभियानमा नेपाल पनि अघि बढेको बताए। ‘नेपालले बहुपक्षीय क्षेत्रमा क्रमशः सुधार गर्दै गएका कारण गरिबी निवारण, व्यापार अभिवृद्धि र वैदेशिक लगानीमा वृद्धि हुँदै आएको छ,’ टुनले भने। 

सम्मेलनलाई सम्बोधन गर्दै मुथुट समूहका अध्यक्ष एमजीजर्ज मुथुटले राजनीतिक स्थायित्व हासिल गरेको नेपालले अव अर्थिक क्षेत्रमा फड्को मार्ने बताए। ‘नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको छ,’ उनले भने। उनले नेपालले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई साथ दिनका लागि पनि लगानी गर्न तयार रहेको बताए। 

पाँच समूहमा छलफल

लगानी सम्मेलनको पहिलो दिन शुक्रबार पाँच समूहमा छलफल भएका छन्। पहिलो भने ‘नेपालमा लगानीका अवसर’ विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्षता गरेका थिए। जसमा नेपालमा लगानीका क्षेत्र तथा करका विषयमा छलफल भएको थियो। 

दोस्रो समूहको छलफल भने नेपालमा ऊर्जाको सम्भावना तथा लगानीका विषयमा भएका थिए। जसमा १५ हजार मेगावट विद्युत उत्पादन र बिक्री विषयमा छलफल गरिएको थियो। जसमा चीन, भारत र बंगलादेशका विज्ञहरु सहभगी भएका थिए।

तेस्रो समूहमा भने आगामी डिजिटल अर्थतन्त्रका विषयमा छलफल गरिएको थियो। भने चौथो समूहमा नेपालको पर्यटनका गन्तव्यका विषयमा छलफल भएको थियो। पाँचौ समूहमा  नेपालमा उद्योग क्षेत्रका सम्भावना र बजारीकरणका विषयमा छलफल भएको थियो। शनिबार सकिने सम्मेलनमा पाँच वटा समूहमा छलफल हुनेछ भने विभिन्न परियोजनामा  लगानी घोषणा तथा दुई पक्षीय सम्झौताहरु हुनेछन्। 
 

प्रकाशित मिति: ०१:५३ बजे, शनिबार, चैत १६, २०७५