गण्डकीमा १३ लाख पर्यटक भित्र्याउने सडकको बिजोग
कोत्रे, चैत १५: अघिल्लो महिना कास्कीको पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले सन् २०२२ सम्ममा २० ल....

कोत्रे, चैत १५: अघिल्लो महिना कास्कीको पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेका थिए। सन् २०१९ लाई पनि प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मान्दै १३ लाख पर्यटक यसै वर्ष भित्र्याउने गरी काम गरिरहेको छ।
तर, यीमध्ये अधिकांशजसो पर्यटक प्रवेश गर्ने मुख्य नाका दुलेगौंडा–कोत्रे सडकको दूरावस्थाले प्रदेश सरकारको लक्ष्य पूरा हुनेमा शंका उब्जाएको छ। पृथ्वी राजमार्गमा पर्ने हलेदी–कोत्रे सडकखण्डमा ठेकेदारले समयमै काम नसक्दा धेरै पर्यटकले सास्ती भोग्नु परेको छ। स्थलमार्गबाट काठमाडौं तथा चितवन हुँदै जाने पर्यटकलाई पोखरा पुग्नका लागि यो विन्दु पार नगरी पर्यटकलाई सुख छैन। देशकै सर्वाधिक सवारी चाप रहनेमध्ये यस सडक हुँदै भित्रिने पर्यटकको हिस्सा ठूलो छ। तर, सहज यात्राको अपेक्षा गरेका पर्यटकहरुका लागि धुलो र खाल्डाखुल्डीले निकै कष्ट दिने गरेको छ।
जताततै खाल्डाखुल्डी र धुलोका कारण पर्यटकले गाह्रो मान्ने गरेको काठमाडौंमा ट्राभल एजेन्सी सञ्चालन गरिरहेका सुजन प्रधानले बताए। ‘पहिले पहिले आफै मोटरसाइकल रिजर्भ गरेर जाने पर्यटक बढी थिए,’ उनले भने,‘तर सोही खण्डको खराब सडकले उनीहरुले धारणा परिवर्तन गरेका छन्।’ काठमाडौं–पोखरा नियमित यात्रा गर्ने पर्यटक बसका चालक राजिव थापा सडकको खराब अवस्थाले जतिसुकै सावधानी अपनाए पनि पर्यटकले सास्ती पाउने बताउँछन्। ‘सजिलोसँग हिड्न पाइयोस् भनेर पर्यटक बस रोज्ने हुन्,’ उनले भने,‘तर सडक नै खराब भएपछि जति सजग भए पनि गाडी उफ्रन्छ।’ यसले पर्यटकहरुलाई नकारात्मक प्रभाव परेको उनले बताए। ‘राजमार्ग पनि यस्तो हुन्छ र भनेर प्रश्न गर्छन्,’ उनले भने,‘जति बन्ला भने पनि सधै उस्तै छ। के भनेर जवाफ दिनु।’
जताततै खाल्डाखुल्डी र धुलो धुवाँ भएको दुई वर्ष बढी भइसक्यो। तर, मर्मत हुन सकेको छैन। खराब अवस्थाकै कारण कैयाैं पटक दुर्घटनासमेत भएर यस क्षेत्रमा मानिसको ज्यान गैरहेको छ। तर, पनि समस्या समाधानमा खास प्रगति भएको छैन। सडक सुधारका लागि स्थानीयले विरोध, धर्ना र जामसम्म गरे। देशकै सुन्दर पर्यटकीय नगरी जाने यस सडकको हालत उस्तै छ।
‘धुलो, धुवाँ र खाल्डाले सास्ती भइसक्यो भनेर खबरदारी गरिरहेका छौं,’शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले भने,‘तर, सडक डिभिजन, ठेकेदार कसैले टेरेका छैनन्।’ उनले आफूहरुले सास्ती जेनतेन झेले पनि पर्यटक र यात्रुले दुःख पाएको बताए। ‘कतिपटक त खाल्डामा सवारी परेर दुर्घटना पनि भएको छ,’ उनले भने,‘मानिसको ज्यान गइसक्दा पनि कसैले केही गरेनन्।’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले भने देशको समग्र विकासमा देखिएको समस्या भएको बताए। उनले संघ सरकारअन्र्तगतको काम भएकाले आफूहरुले केही गर्न नमिलेको भन्दै आफूमातहत ल्याएमा अनुगमन गर्न सकिने बताउँदै निरीहता देखाएका थिए।
ठेकेदारले झारा टार्दा समस्या
व्यास–५, चापाघाटमा रहेको सडक डिभिजनले यो सडक मर्मतका लागि साढे २ करोडमा रोशन सिद्धिगढी जेभीलाई जिम्मा दिएको थियो। कम्पनीले सडक मर्मत नै नसकेरै भुक्तानी मागे पछि हाल भुक्तानी रोकिएको छ। एकपल्ट झारा टार्ने गरी काम भएजस्तो गरे पनि सडकको अवस्था उस्तै रहेको विरोध आएपछि सडकले भुक्तानी रोकेको छ।
‘ठेकेदारले सम्झौताअनुसारको काम सकेको भनेर भुक्तानी माग्न आएको थियो,’ डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले भने,‘तर काम नभएको पाएपछि भुक्तानी रोकेका छौँ।’ सडकका प्राविधिकहरु पानीको निकास नभएका कारण मर्मतमा समस्या भइरहेको बताउँदै पन्छने गरेका छन्। सडकको मर्मत र सुधारका लागि समयमै पहल नभए स्थलमार्गको प्रयोग गर्ने पर्यटकको संख्या घट्ने नागरिक समाजका अध्यक्ष खनालले बताए।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सडक निर्माणको काम सक्न आफूले ताकेता गरिरहेको बताए।











