एक साताभित्रै नेविसंघको तदर्थ समिति बन्छः सहमहामन्त्री महत
चितवन, चैत १५: नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतलेनेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति एक हप्ताभित्रै गठन हुने बताएक....
चितवन, चैत १५: नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतलेनेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति एक हप्ताभित्रै गठन हुने बताएका छन्।
शुक्रबार दिउँसो भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले तदर्थ समिति गठन गर्न गृहकार्य भइरहेको बताए। उनले भने,‘अब नेविसंघ नेतृत्वविहीन हुँदैन। तदर्थ समिति गठन गर्न सभापतिजीले छलफल गरिरहनु भएको छ। अबको एक हप्तामै नेविसंघले नेतृत्व पाउँछ।’
उनले नेविसंघको केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएकाले अब गठन गरिने तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गर्ने बताए।
डा. महतले नेविसंघको विधानअनुसार अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्ने भएपनि तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताए।
फरक प्रसंगमा उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम कारबाही चित्तबुझ्दो नभएको आरोप लगाए। उनले लगानी सम्मेलन महत्वपूर्ण भएपनि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताए।






