एसइई परीक्षामा भएको अनियमितताबारे सिआइवीले छानविन गर्ने
काठमाडौं, चैत १५ : माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा भएको अनियमितताका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले छानविन ग....
काठमाडौं, चैत १५ : माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा भएको अनियमितताका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले छानविन गर्ने भएको छ।
शुक्रबार सिंहदरबारमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए। उनका अनुसार सिआइवीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गर्नेछ।
यसअघि बिहीबार प्रदेश नम्बर २ मा एसइई परीक्षाको विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियाे। प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो। रद्द गरिएको विज्ञान विषयको परीक्षा प्रदेश २ मा चैत २२ गते हुनेछ।
बैठकले ७७ जिल्लामा अबदेखि परीक्षा सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्न निर्देशन पनि दिएको छ। शनिबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड-फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकतर्फ कृषि तथा माछापालन, इलेक्ट्रिकल व्यवस्थापन र उपकरण, कम्प्युटर तथा सर्भे इञ्जिनीयर र म्युजिक अफ नेपाल विषयको परीक्षा हुनेछ।
शनिबार हुने ती विषयको प्रश्नपत्र ठीक छ वा छैन भनेर शुक्रबार साँझ ६ बजेसम्म मुचुल्का परीक्षण गरिनेछ। चैत १० गतेदेखि शुरु भएको एसइई परीक्षा २१ गतेसम्म चल्नेछ।






