आगामी तीन दिन बदली र वर्षा हुने
काठमाडौं, चैत १५ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मह....

काठमाडौं, चैत १५ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । त्यस्तै, पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको छ।
पश्चिमी न्यून चापीय प्रणालीका साथ स्थानीय वायुको समिश्रणले मौसम बदली र वर्षा गराएको महाशाखाका मौमसविद् सुवास रिमालले बताए । उनका अनुसार आज रातिबाट देशको पश्चिमी भेगबाट प्रवेश गर्ने पश्चिमी न्यूनचाँपीय प्रणालीले बदली र वर्षा गराउनेछ।
उक्त प्रणालीले खासगरी शनिबार र आइतबार बढी असर गर्ने देखिएको छ । ठूलो खालको प्रणाली विकसित नभए पनि बदली र मेघ गर्जनसहित क्षणिक वर्षा गराउनेछ।
आज दिउँसो पूर्वी भेगलगायत मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने पूर्व, मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मध्याह्नपछि वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातको समयमा पनि पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमका थोरै स्थान र मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहितको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी पहाडी भेगका थोरै स्थान र मध्य तथा पश्चिमका पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पूर्वी र मध्य पहाडी क्षेत्रमा सामान्य बदली हुनुका साथै क्षणिक वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यसैगरी यही चैत १७ गते आइतबार पूर्वी र मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानको मौसम आंशिक बदली रहनेछ । पूर्वी र मध्यपहाडी स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ।
आज काठमाडौँको न्यूनतम १४ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ। (रासस)











