सामाजिक विषयको प्रश्नपत्र ‘आउट’, वीरगञ्ज तनावग्रस्त
वीरगञ्ज, चैत १५ : आज हुने एसइईमा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको छ । प्रश्नपत्र आउट भएपछि विद्यार्थीले नाराबाजी ....

वीरगञ्ज, चैत १५ : आज हुने एसइईमा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको छ । प्रश्नपत्र आउट भएपछि विद्यार्थीले नाराबाजी गरेका छन् । वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाँकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएको हो । त्यसपछि शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको छ।
कार्यालयका उप–नियन्त्रक चेतनाथ शर्माले प्रश्नपत्र आउट भएको पुष्टिपछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए । ‘सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्ट भाइरल भएका कारण आजको सामाजिक विषयको परीक्षा रद्द गरेका छौँ,’ उनले भने।
परीक्षा रद्द गरिएपछि विद्यार्थी विरोधमा उत्रिएका हुन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ।
उनीहरूले घण्टाघरमा रहेको प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ लेखेको नारासहितको साइनबोर्ड तोडफोड गरेका छन् । त्यस्तै, सोलारसहितको ट्राफिक बिट र ट्राफिक व्यवस्थापनका लागि घण्टाघरमा राखिएको ट्राफिक सङ्केत भएको बोर्ड तोडफोड गरेका छन् । उनीहरू वीरगञ्ज बजार बन्द गराउँदै हिडेका छन्।
प्रदेश २ मा सामाजिक विषयको परीक्षा रद्द भएपछि ७२ हजार ४९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बिहीबार पनि सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएको थियो । विज्ञानको पनि परीक्षा रद्द गरिएको थियो।











