Kathmandu Press

जनकपुर बम काण्डः पूर्वराज्यमन्त्री शाहसहित ७ जनालाई जन्मकैदको सजाय

जनकपुर, चैत १४: जनकपुर बम काण्डमा दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय शाह....

जनकपुर बम काण्डः पूर्वराज्यमन्त्री शाहसहित ७ जनालाई जन्मकैदको सजाय
फाइल फोटो

जनकपुर, चैत १४: जनकपुर बम काण्डमा दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय शाह ‘टक्ला’ सहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

बिहीबार जिल्ला न्यायाधीश राजेश कटुवालको एकल इजलासले जनकपुर बम काण्डका मुख्य नाइके पूर्व राज्यमन्त्री शाहसहित ७ जना जनकपुर बम काण्डमा दोषी रहेको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। 

बम काण्डमा जन्मकैदको सजाय पाउनेहरुमा पूर्वराज्यमन्त्री शाहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कर्ण र दिपेन्द्र झा रहेका छन्।

मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट भएको थियो। बम विष्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो भने ४० भन्दा बढी घाइते भएका थिए।

जनकपुर बम काण्डका मुख्य अभियुक्त भनिएका पूर्वराज्यमन्त्री शाह जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या अभियोगमा पाँच वर्षदेखि काठमाडौंस्थित कारागारमा पूर्पक्षका लागि थुनामा छन्। 

पूर्वराज्यमन्त्री शाह २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा धनुषाको क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए।
 

प्रकाशित मिति: १८:५० बजे, बिहीबार, चैत १४, २०७५