विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं, चैत १४: सर्वोच्च अदालतले काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली तीन दिनभित्र अदालतमा हा....
काठमाडौं, चैत १४: सर्वोच्च अदालतले काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली तीन दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको छ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले प्रहरीको नियन्त्रणमा रहेका विप्लव समूहका नेता वलीलाई तीन दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको हो। वलीलाई प्रहरी नियन्त्रणमा लिएपछि उनकी छोरी विपना वलीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
विपनाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको इजलाशले वलीलाई बन्दी बनाउनुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएका हुन्।
प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरीको संयुक्त टोलीले गत शुक्रबार राति काभ्रेको खानीखोला–७, मिल्चेबाट विप्लव समूहका नेता वलीसँगै आठ जना पक्राउ गरेको थियो। उनीसहित काभ्रेबाट वेद घिमिरे, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का, सञ्जिव कार्की र विजय श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।






