विप्लवलाई देशमा आतंक मच्याउने छुट छैनः मुख्यमन्त्री पोख्रेल
दाङ, चैत १४: प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गति....

दाङ, चैत १४: प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर उपमहानगर कमिटीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा उनले विगतका क्रान्तिसँग अहिले सो समूहको अराजनीतिक गतिविधिलाई तुलना गर्न नहुने बताए। '२००७ सालमा काङ्ग्रेसले हुकुमी शासन अन्त्य गरी लोकतान्त्रिक अधिकारका लागि हतियार उठाएको थियो, तत्कालीन मालेले पञ्चायती तानाशाहीविरुद्ध झापा आन्दोलनका क्रममा हतियार उठाएको थियो भने तत्कालीन नेकपा माओवादीले राष्ट्रप्रमुख राजा रहने व्यवस्थालाई अन्त्य गरी लोकतान्त्रिक प्रणालीबाट जनताको छोरो राष्ट्रप्रमुख रहने, धर्म निरपेक्ष नेपाल निर्माण गर्ने, निरङ्कुश राजतन्त्र फाल्न हतियार उठाएको थियो,'उनले भने।
क्रान्तिले नै मुलुकले लामो सङ्घर्ष नेपालको संविधान पाएको र मुलुक समृद्धिको मार्गमा अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले अहिले चन्द नेतृत्वको समूहले त्यही संविधानका विरुद्ध अराजनीतिक गतिविधि गरिरहेको तर, यस्ता गतिविधिलाई विगतका आन्दोलनसँग तुलना गर्न नमिल्ने बताए। विगतमा भएका आन्दोलनले आफ्नो एजेण्डा पूरा गरिसकेकाले अहिले उक्त समूहको आन्दोलनको औचित्य नभएको उनको भनाइ थियो।
संविधानमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई खलल नपुग्ने गरी जनताको दुई तिहाइ बहुमतले संविधानमा रहेका हरेक प्रश्नहरु सुल्झाउन सकिने अवस्थामा एजेण्डाविहीन रहेर संविधान विपरीत गतिविधि गर्ने अधिकार कसैलाई पनि नरहेको उनको तर्क थियो। रासस











